मुम्बई- भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेकाे काेराेनाविरुद्धकाे खाेप कोभ्याक्सीनले २ देखि १८ वर्ष उमेर समूहका व्यक्तिमा क्लिनिकल ट्रायलका लागि अनुमति पाएकाे छ।
सब्जेक्ट एक्सपर्ट कमेटी (एसईसी)ले मंगलबार २ देखि १८ वर्ष उमेर समूहका व्यक्तिमा दाेस्राे र तेस्राे चरणकाे ट्रायल गर्न अनुमति मागेकाे थियाे।
लगत्तै केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)ले खाेप ट्रायल गर्न अनुमति दिएकाे हाे।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्ली र पटनाको एम्स तथा नागपुरको मेडिट्रिना मेडिकल साइन्स संस्थानसहित ठाउँहरू याे खाेपकाे ट्रायल गरिनेछ।
भारतमा कोभ्याक्सीन र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेकाे खाेप काेभिशिल्ड प्रयाेग हुँदै आएकाे छ। यद्यपि, यी दुवै खाेप १८ वर्षभन्दा माथिकालाई दिइँदै आएकाे छ।
भारतमा दैनिक रुपमा उच्च संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ४८ हजार ५२९ जना नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको भारतमा पछिल्लो २४ घण्टामा ४२ सयको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ५४ हजार नाघेको छ।
भारतमा काेराेना संक्रमणकाे तेस्राे लहर आउने आकलन गरिएकाे छ। यसबाट सबैभन्दा बढी बच्चाहरु प्रभावित हुने आकलन गरिएकाे छ। याे ट्रायलले महामारी न्यूनिकरणकाे लागि केही मद्दत पुग्ने आशा गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।