भारत–बिहारको बक्सर जिल्लाको चौसा प्रखण्डको चौसा श्मशान घाटस्थित गंगा नदीमा कम्तिमा पनि ४० शव तैरिरहेको अवस्थामा फेला परेको छ।
स्थानीय प्रशासनले शव तैरिएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। तर स्थानीय पत्रकारले श्मशान घाटमा ४० भन्दा धेरै शव देखिएको दाबी गरेका छन्।
स्थानीय स्तरमा आएका तस्वीरहरु हृदयविदारक छन्। लाशलाई जनावरले खाइरहेको देखिएको छ।
चौसाका प्रखण्ड विकास पदाधिकारी अशोक कुमारले भने,‘३०/४० को संख्यामा लाश गंगामा फेला परेको छ। यी लाश उत्तर प्रदेशबाट बहेर आएको सम्भावना छ, मैले घाटमा रहने मानिसहरु कुरा गरेको थिएँ उनीहरुले लाश यहाँको नभएको बताए।’
यसबीच बक्सर जिल्लाका अधिकारी अमन समीरले पत्रकार सम्मेलन गर्दै भने,‘हामी गाजीपूर र बलियासँग समन्वय गरिरहेका छौं ताकि उनीहरुको क्षेत्रको लाशको दाह संस्कार उनीहरु नै गरुन्। तर केही लाश बक्सरको क्षेत्रमा आउँछ जसको पूरा सम्मानका साथ संस्कार गरिनेछ।’
बक्सर जिल्ला उत्तरप्रदेश तथा बिहार राज्यका सीमावर्ती जिल्ला हो। गंगा नदीको किनारामा बसेको यो जिल्लाको उत्तरमा यूपीको बलिया जिल्ला र पश्चिममा गाजीपुर जिल्ला पर्छ।
स्थानीयको फरक भनाइ
तर स्थानीय पत्रकार सत्यप्रकाश प्रशासनका दावीलाई स्वीकार गरिरहेका छैनन्।
उनका अनुसार अहिलेसम्म गंगाको पानीमा बहाव कम छ र हावा पनि चलेको छैन, यस्तोमा लाश बगेर आउने सम्भावना छैन।
‘९ मेको विहान पहिलो पटक मैले त्यहाँ १ सय करिब शव देखेँ। जो १० मे मा निकै कम भयो। बक्सरको चरित्रवन घाटको पौराणिक महत्व छ र अहिले त्यहाँ कोरोनाका कारण लाश जलाउने ठाउँ पनि छैन जसका कारण मानिसहरु लाशलाई ८ किलोमटिर टाढा चोसा श्मसान लगिरहेका छन्।’
‘यो घाटमा दाउराको व्यवस्था छैन, डुँगा पनि बन्द अवस्थामा छ। यस कारण मानिसहरुले लाशलाई गंगामा बगाइरहेका छन्। कसैले गंगाको बीचमा घडा बाँधेर पनि शवलाई बगाइरहेका छन्’उनले भने।
घाटमा बस्ने पण्डित दीन दयाल पांडेले स्थानीय पत्रकारसँगको कुराकानीमा बताए,‘यो घाटमा दिनमा दुई तीन लाश आउँथे तर विगत १५ दिनमा यहाँ करिब २० लाश ल्याइने गरिएको छ। जुन शव गंगाजीमा तैरिरहेका छन् यी संक्रमितको हो। गंगाजीमा नबगाउन हामीले मानिसहरुलाई आग्रह गरेपनि उनीहरु मान्दैनन्, प्रशासनले यहाँ पाले राखेको छ तर उनीहरुले उनको कुरा सुन्दैनन्।’
मानिसहरुलाई गंगामा शव नबगाउन अनुरोध गर्दा उनीहरुले दाउरा माग्ने गरेको घटमा बस्ने अजोरिया देवी बताउँछिन्।
बक्सर प्रशासनले घाटमा जेसीबी मेसिनको प्रयोग गरेर खाल्डो खनेर शव पुरेको छ।
संक्रमितको दाहसंस्कारका लागि १५–२० हजार रुपैयाँ खर्च हुने गरको छ। कतिपयसँग आर्थिक अवस्था कमजोर भएका कारण पनि समस्या देखिएको छ।
बक्सर जिल्लामा १२१६ कोरोनाको सक्रिय संक्रमित रहेका छन् भने २६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।