फाइल तस्बिर
                                        
                                    
                                                             
                            
                            काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको बताएका छन्।
आज सम्पन्न जसपाको पदाधिकारी बैठकपछि उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् उक्त जानकारी दिएका हुन्। उनले आ-आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्नसमेत आह्वान गरेका छन्।
'जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आ-आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं,' भट्टराईले लेखेका छन्।
जसपाको पदाधिकारी बैठकले भोलि संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।