मस्को- रुसले उत्पादन गरेकाे काेराेनाविरुद्धकाे खाेप स्पुतनिक लाइट सिंगल डोज लिए पुग्ने दाबी गरेकाे छ।
मस्कोस्थित गामलिया रिसर्च इन्स्टिच्युटले बनाएको याे खाेप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने जनाइएकाे छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले यसमा लगानी गरेको हो।
यसअघि यही इन्स्टिच्युटले स्पुतनिक भी नामक खोप बनाएको थियो। रुसले यो खोपलाई कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोपका रुपमा प्रचार गरिरहेको छ। विश्वका ६० देशमा याे खाेपकाे प्रयोग भइरहेको छ।
भारतले पनि रुसले उत्पादन गरेकाे स्पुतनिक खोपलाई अनुमति दिइसकेको छ। यता नेपालले पनि रुससँग २ कराेड डाेज खार्प ल्याउन सम्झाैता गरिसकेकाे छ।
यस कम्पनीका सिइओ किरिल दिमिट्रियवका अनुसार स्पुतनिक लाइटको मूल्य १० डलर (झन्डै ११८० रुपैयाँ) पर्नेछ।
उनले भने, 'सिंगल डाेजले ठूलो समूहमा रहेकाे खोपको चुनौती समाधान गर्दछ। याे खाेपले तीव्र गतिमा भइरहेकाे कोरोना फैलावट राेक्न सहयाेग गर्छ भन्ने विश्वास लिएका छाैं।'
यस खोपको फेज ३ ट्रायलमा ७ हजार मानिस समावेश भएका छन्। घाना, रुस र युएईमा ट्रायल चलेको थियो।
२८९ दिनपछि यसको डाटा एनालाईज गरियो। जसअनुसार यो खोप कोरोनाका सबै नयाँ स्ट्रेनमा असरदार रहेको पाइयो। डाटाले देखाएअनुसार अन्य दुई डोजका धेरै खोपभन्दा यो धेरै असरदार छ। यो खोप लगाएकाहरूमा १० दिनपछि नै एन्टीबडीहरू ४० गुणासम्म बढेको थियो।
खोप लगाउने सबैमा कोरोनाको एस–प्रोटीनविरुद्ध इम्युन रेस्पोन्स विकसित भएकाे जनाइएकाे छ। यो सिंगल डोज खोप भएकाले धेरै जनसंख्या भएका मुलुकमा खोप लगाउने दर बढाउन सकिन्छ।
'स्पुतनिक लाइट खोप हाम्रो अन्तर्राष्ट्रिय साझेदारहरुलाई निर्यात गरिने छ। महामारी र काेराेनाकाे नयाँ भेरियन्टसँग जुधिरहेका धेरै देशहरूमा खोप अभियान बढाउन सजिलाे पर्छ,' उनले भने।
स्पुतनिक लाइटलाई २ देखि ८ डिग्री तापक्रममा भण्डारकण गर्न सकिन्छ। अर्थात्, यसको ओसार पसार गर्न सहज रहेकाे बताइएकाे छ।
यस्तै, पहिल्यै कोरोना भइसकेका व्यक्तिमा पनि यसले प्रभावकारी काम गर्ने दाबी गरिएकाे छ।
खोप लगाइसकेपछि कोरोनाको गम्भीर असरको खतरा कम हुनेछ, प्रायःजसो मामिलामा बिरामीलाई अस्पताल भर्ना गर्नु जरुरी नहुने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।