ढाका- बंगलादेशले काेराेना महामारीले ग्रस्त भारतलाई १० हजार भाइल रेमडिसिभिर सहयोग गरेको छ। कोलकातास्थित बंगलादेशका सहायक उच्च कमिस्नरले भारतीय प्रतिनिधिलाई उक्त रेमडिसिभिर हस्तान्तरण गरेका हुन्।
बंगलादेशले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा रेमडिसिभिर भारत पठाइएको जनाएको छ। भारतमा पठाइएको रेमडिसिभिर बंगलादेशका ठूला औषधी कम्पनीमध्येको एक बेक्सिम्कोले गरेकाे हाे।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर प्रयोग नगर्न आग्रह गरेको छ। डब्लुएचओले एक गाइडलाइन सार्वजनिक गर्दै कोभिडको उपचारमा यसको प्रभावकारिता पुष्टि नभएकाले बिरामीको अवस्था हेरी यसको प्रयोग नगर्न आग्रह गरेको हो।
अमेरिकाको नेसनल इन्स्टीच्युट अफ हेल्थ (एनआईएच) का अनुसार यो एक दशक पहिले हेपाटाइटिस सी र अर्को एक खोकीको भाइरसविरुद्ध बनाइएको हो। तर, यी दुवै भाइरसविरुद्ध यो प्रभावकारी देखिएन। अन्य भाइरसविरुद्ध भने यो प्रभावकारी हुनसक्ने देखियो।
गत वर्ष गरिएको एक अध्ययनमा यो औषधि दिइएका सिकिस्त भई अस्पताल भर्ना भएका कोभिड संक्रमित बिरामी छिटो निको भएको पाइएको थियो। त्यसैले यसकाे काेराेना संक्रमितकाे उपचारमा यसकाे प्रयाेग हुँदै आएकाे छ।
भारतमा बंगलादेशले पठाएको यो पहिलो सहयोग हो। बंगलादेशले ठूला मात्रामा भिटामिन सि, डि, जिन्क सप्लिमेन्ट्स्, एन ९५ मास्क र कोभिड १९ का बिरामीहरुलाई आवश्यक औषधी पठाउने तयारी पनि गरिरहेको छ।
बंगलादेश आफैं पनि कोरोनाको चपेटामा छ। बंगलादेशमा बिहीबार ४१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। यद्यपी, पछिल्लो आँकडाले देशमा कोरोनाको संक्रमण घट्दै गएको देखाउँछ।
बंगलादेशले कोभिशिल्ड खोप लैजानका लागि भारतको सेरम इन्स्टिच्युटसँग पनि साझेदारी गरेको छ। यद्यपि भारतले बंगलादेशलाई खाेप दिएकाे छैन। बिहीबार मात्रै बंगलादेशी अर्थमन्त्री एएचएम मुस्ताफा कमलले भारतले काेराेनाविरुद्धकाे खाेप नदिए आफ्नाे पैसा फिर्ता माग्ने बताएका थिए।
'हामीसँग खाेप दिने लिखित सम्झाैता भएकाे थियाे। तर, खाेप दिन आलटाल गरिरहेका छन्। यदी खोप दिइदैन भन्ने निश्चित भयो भने हामी हाम्रो पैसा फिर्ता लिन्छौँ,' उनले भने।
यस महामरीसँग जुध्न बंगलादेश सरकारले वैकल्पिक माध्यमबाट खाेप खरिद गर्ने तयारी थालेकाे छ। 'यो संवेदनशील मुद्दा हो। सरकारले एकै समयमा वैकल्पिक स्रोतबाट खोप आयात गर्ने कोशिश गरिरहेको छ। सरकार एकल स्रोतमा निर्भर छैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।