काठमाडाैं- मेलिन्डा गेट्स अर्बपति सूचीमा परेकी छिन्। विश्वकै चौथो धनाढ्य व्यक्ति बिल गेट्ससँग गत सोमबार सम्बन्धविच्छेद गरेसँगै उनी अर्बपति सूचीमा परेकी हुन्।
६५ वर्षका बिल र ५६ वर्षकी मेलिन्डा दुवैले संयुक्त बयान जारी गर्दै आफूहरु २७ वर्षको वैवाहिक सम्बन्ध अगाडि नबढाउने घाेषणा गरेका थिए।
सम्बन्धविच्छेदपछि बिलले मेलिन्डाले पाउनुपर्ने अंश दिएका छन्। फोर्ब्स म्यागेजिनका अनुसार बिलले मेलिन्डालाई २.४ अर्ब अमेरिक डलर बराबरको सेयर ट्रान्सफर गरेका छन्। मेलिन्डासँग कासकेड इन्भेस्टमेन्टमा १.८ अर्बको सेयर छ।
यस्तै, मेलिन्डाले अटोनेसनमा २.९४ मिलियन बराबरको सेयर, क्यानडाको रेलवे कर्पोरेसनको १४.१ मिलियन बराबरको सेयर प्राप्त गरेकी छिन्। जसको मूल्य क्रमश ३०९ मिलियन र १.५ अर्ब बिलियन डलर रहेको बताइएको छ।
यद्यपी, १३०.४ अर्ब सम्पत्तिका मालिक बिलले पूर्वश्रीमतीलाई अंश दिँदासमेत उनी विश्वकै चौथो धनाढ्य व्यक्तिमा छन्। तीन बच्चाको आमा–बुबा मेलिन्डा र बिल विश्व चर्चित संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन चलाउँछन्।
यस संस्थाले विश्वभर देखिने संक्रामक रोगको बिरामी तथा बच्चाको लागि खोप उपलब्ध गराउन अरबौं खर्च गर्दछ। सन् १९७५ मा बिल गेट्स र उनका साथी पल एलनले माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए। यही कम्पनीबाट बिल गेट्सले अरबौं डलर कमाएका हुन्।
१९८० को दशकमा मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा काम गर्न थालेपछि नै उनीहरुको भेट भएको थियो। १९८७ मा मेलिन्डाले प्रोडक्ट म्यानेजरको रुपमा बिलको कम्पनीमा काम थालेकी थिइन्। सोही वर्ष न्यूयोर्कको एउटा बिजनेस डिनरमा उनीहरुको पहिलो भेट भएको थियो।
त्यसपछि नै उनीहरुले डेटिङ गर्न थालेका थिए। १९९४ मा हवाई राज्यको एउटा टापुमा दुवैले विवाह गरेका थिए। गतवर्ष मात्र बिलले समाजसेवामा पुरै समय खर्च गर्नेभन्दै माइक्रोसफ्ट कम्पनीको सीईओबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।