काठमाडाैं- अफ्रीकी देश मालीकी हलिमा सिस्सेले नौ शिशुलाई जन्म दिएकी छिन्। मंगलबार हलिमाले छिमेकी देश मोरोक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ५ छाेरी र ४ छाेरालाई जन्म दिएकी हुन्।
चिकित्सकहरुका अनुसार अहिलेसम्म आमा र शिशुहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ। हलिमा टिम्बक्टु क्षेत्रको हुन्। प्रसव हुनुभन्दा अघि हलिमालाई दुई हप्ता मालीको राजधानी बामाकोको अस्पतालमा भर्ना गरिएको थियो।
त्यसपछि माली सरकारले हलिमालाई चार्टर उडानमार्फत सुरक्षित डेलिभरीको लागि मोरोक्को पठाएकाे थियाे। यसअघि २५ वर्षीया हलिमाकाे अल्ट्रासाउन्ड गर्दा पेटमा ७ शिशु रहेकाे चिकित्सकहरुले बताएका थिए। यद्यपि, उनले ९ शिशु जन्माएपछि सबै छक्क परेका छन्।
चिकित्सकहरुका अनुसार ती हलिमालाई अब केही हप्ता अस्पतालमा राखिने छ। मालीका स्वास्थ्यमन्त्री फान्ता सिवीले धेरै रक्तस्राव भएपनि हलिमाको स्वास्थ्य अवस्था राम्राे रहेकाे जानकारी दिए।
हलिमाका पति अझै मालीमा छन्।
हलिमाको नौ शिशुकाे जन्म संसारमा दुर्लभ छ। यो विश्वमा घटेकाे दुर्लभ घटनामध्ये तेस्राे हाे। यसअघि अष्ट्रेलिया र मलेसियामा महिलाहरूले ९ शिशुलाई जन्म दिएका थिए। यद्यपि, यी शिशुहरुले जन्मपछि नै प्राण त्याग गरेका थिए।
यदि हलिमाका नौ शिशु बाँचे भने उनले एक कीर्तिमान बनाउनेछन्। यसअघि २००९ मा नादया सुलेमानले ८ शिशुलाई जन्म दिएकी थिइन् र तिनीहरू सबै बाँचेका थिए।
स्वास्थ्य विभागका अनुसार करीव ३० हप्तामा जन्म लिएका शिशुहरु ३९.९ सेन्टीमिटर हुन्छन्। जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ।
मोरोक्को क्लिनिकले यी सबै शिशुकाे एक भिडियो सार्वजनिक गरेकाे छ। शिशु डाक्टरहरू र नर्सहरूको निरीक्षणमा छन्। हालीमाकाे उद्धार गर्ने डा याजिद मुरादका अनुसार यी सबै शिशुले करीब ३० हप्तामा जन्म लिएका हुन्।
'शिशु बाँच्न सक्ने सम्भावना बढ्ने गरी जन्म दिने मिति बढाइएकाे थियाे,' उनले भने, 'यी शिशु २५ हप्तामा जन्मने थिए तर, हाम्रो प्रयासका कारण उनीहरु थप ५ हप्ता आमाको गर्भमा रहे। याेसँग उनीहरूको बाँच्ने सम्भावना बढेको छ।'
डा मुरादका अनुसार प्रायः ३० हप्तामा जन्मेका र सही उपचार पाएका शिशुहरु बाँच्न सक्ने ८० प्रतिशत बढी सम्भावना हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।