काठमाडाैं- भारतको पश्चिम बंगालमा भड्किएकाे चुनावी हिंसामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
चुनावी नतिजा सार्वजनिक भएसँगै भड्किएकाे हिंसामा परी पछिल्लाे २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीनजनाको मृत्यु भएसँगै मृतकको संख्या १७ पुगेको हो।
मंगलबार पूर्व मेदिनीपूरका साथै पश्चिम मेदिनीपुर, बिरभूम, जलपाइगुडी तथा दक्षिण दिनाजपुरमा हिंसा भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
मृत्यु हुने १७ मध्य ९ जान आफ्ना कार्यकर्ता रहेको भारतीय जनता पार्टी (भाजपा)ले जनाएकाे छ।
यता तृणमुल कांग्रेसले आफ्ना ७ कार्यकर्ताको भाजपाले आक्रमण गरि हत्या गरेको आरोप लगाएको छ।
मृतक मध्ये एकजना इण्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता रहेको बताइएको छ।
यसैबीच राज्यका केही क्षेत्रमा तोडफोड र आगजनीका घटना पनि सार्वजनिक भएका छन्।
ममता बनर्जीले बिजेपीले विधानसभा चुनावमा आफ्नो लज्जास्पद हार पचाउन नसकेको आरोप लगाएकी छन्। हारपछि बिजेपीले साम्प्रदायिक हिंसा भड्काएर राष्ट्रपति शासन लागु गराउने प्रयास गरिरहेको उनको आरोप छ।
यसैबीच बिजेपी अध्यक्ष जेपी नड्डा अहिले कोलकाता पुगेका छन्। उनले मंगलबार साँझ हिंसामा मारिएका पार्टीका दुई कार्यकर्ताको घरमा पुगेर परिवारका सदस्यसँग भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।