काठमाडाैं- श्रीलंकामा कोरोना महामारी न्युनीकरणका लागि समूहमा भेला हुन राेक लगाइएकाे छ। सरकारी स्वास्थ्य अधिकारीहरूले भिडभाड हुँदा काेराेना संक्रमण तीव्र गतिमा बढेकाे भन्दै समूहमा भेला हुन राेक लगाइएकाे हाे।
याेसँगै अब श्रीलंकामा विवाह भोज, धार्मिक भेला, भिडभाड हुने कार्यक्रम लगायतलाई पनि प्रतिवन्ध लगाइएको छ। अहिले जारी गरिएको आदेशमा यही मे २१ सम्म विवाह भोजलगायतका कार्यक्रमहरु गर्न नपाइने उल्लेख गरिएको छ।
अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि अन्य भिडभाड हुने कार्यक्रम तथा सार्वजनिक समारोह नगर्न आग्रह गरिएको छ।आदेशमा जनाइएअनुसार, चलचित्र हल, बालबालिका खेल्ने खेल मैदान, पौडी स्थल, बार तथा रेस्टुरेन्टहरु, क्यासिनो र रात्रि क्लबजस्ता विलासी र मनोरञ्जन मूलक सेवालाई पनि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्नु पर्नेछ।
उद्योग तथा पसलहरु भने २५ प्रतिशत क्षमता मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको आदेशमा उल्लेख छ। विद्यालयसहितका शैक्षिक संस्थाहरुलाई पनि अनिश्चितकालका लागि बन्द गर्न आदेश दिइएको छ।
श्रीलंकामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने कम्तीमा ६८७ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।