ढाका- बंगलादेशकाे शिबचार गाउँ नजिकै कार्गो पानीजहाजसँग डुङ्गा ठोक्किँदा कम्तीमा २६ जनाकाे मृत्यु भएकाे छ। स्थानिय प्रहरीका अनुसार अहिलेसम्म २६ शव निकालिएको छ भने पाँच जनाको उद्धार गरिएको छ।
उनीहरुको अहिले उपचार भइरहेको प्रहरी अधिकारी अमिर हुसेनले जानकारी दिए।
उक्त डुङ्गा सरकारले लगाएको प्रतिबन्धका बीच चलाइएको प्रहरीकाे भनाइ छ। सरकारले कोरोना संक्रमण नियन्त्रणको लागि प्रतिबन्ध लगाएको छ।
तर, उक्त उल्लंघन गरी डुङ्गा चलाइएको उक्त क्षेत्रका वरिष्ठ सरकारी अधिकारी रहिमा खातुनले जानकारी दिए।
दुर्घटनामा परी हराएकाको खोजी भइरहेको छ। बंगलादेशमा जलयात्राको क्रममा धेरै दुर्घटना हुने गरेको छ।
अप्रिलको सुरुमा बंगलादेशको नारायणगञ्जमा फेरी डुब्दा ३० जनाको मृत्यु भएको थियो। गत वर्षको जुनमा राजधानी ढाकानजिकै फेरी डुब्दा ३२ जनाको मृत्यु भएको थियो।
राम्रो व्यवस्थापन नहुनु, अत्यधिक मानिसले यात्रा गर्नुजस्ता कारणले दुर्घटना बढेको अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।