दिल्ली (भारत)- केरलाको विधान सभा चुनावमा बाम गठबन्धन बाम प्रजातान्त्रिक मोर्चा (एलडीएफ)ले स्पष्ट बहुमतसहित भावी सरकारमा आफ्नो स्थान सुरक्षित बनाएको छ।
विधान सभाको कुल १४० सिटमध्ये ९९ सिटमा विजयान नेतृत्वको एलडीएफले चामत्कारिक जित हासिल गर्दै आगामी ५ वर्षको लागि सत्ता सञ्चालनमा आफ्नो स्थान सुरक्षित गरेको हाे।
एनलडीएफको निकटतम प्रतिस्पर्धी संयुक्त डेमोक्रयाटिक फ्रन्टले ४१ ठाउँमा विजय हासिल गरेको छ। अघिल्लो विधान सभा चुनावको तुलनामा एलडीएफ गठबन्धनकाे ८ सिट बढेकाे छ। यता केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको गठबन्धनले पहिले पाएको एक सिट गुमाएको छ।
२०२१ को केरला विधान सभाको चुनावमा अप्रिल ६ देखि सुरु भएको थियो। कुल १४० सिटमध्ये बहुमतको लागि ७१ सिट चाहिनेमा विजयान नेतृत्वको बाम गठबन्धनले ९९ सिट पाएको हो।
हारपछिकाे जित
सन् २०११ मा भएको विधान एवं राज्य सभा चुनावमा यूडीएफले केवल ४ सिटले एलडीएफले चुनाव जितेको थियो। त्यतिबेला यूडीएफले ७२ सिट जितेको थियो भने ओमेन चण्डी मुख्यमन्त्री बनेका थिए।
तर, २०१६ को चुनावमा सीपीआई(एम) ले नेतृत्व गरेको एलडीएफ गठबन्धनले कांग्रेसले नेतृत्व गरेको यूडीएफलाई पराजित गर्याे। विजयानले २५ मे २०१६ मा मुख्यमन्त्रीको शपथ लिएका थिए।
त्यतिबेला एलडीएफले ९१ सिट जितेको थियो भने यूडीएफले केवल ४७ सिटमा चुनाव जितेको थियो। बिजेपी नेतृत्वको एनडीए गठबन्धनले भने केवल एक सिट जितेको थियो।
सन् २०१६ मा चुनाव जितेको एलडीएफले २०१९ को लोकसभा चुनावमा लज्जास्पद हार व्यहोरेको थियो। उक्त लोक सभा एवं आम चुनावमा कुल ५४५ सिटमध्ये केरलामा २० सिट रहेको छ। जसमध्ये यूडीएफले १९ सिट जितेकाे थियाे भने एलडीएफ १ सिटमा समेटिएकाे थियाे।
त्यस्तै, सन् २०१९ मा भएको विधानसभाको ६ खाली सिटमा भएको उपनिर्वाचनमा एलडीएफ र यूडीएफले समान ३–३ सिट जितेका थिए। एनडीएफले त्यहाँ शून्य सिटमा सम्हालिएकाे थियाे।
विश्लेषकहरू कोरोना भाइरस महामारीको एउटा घटनाले गर्दा एलडीएफले जित हासिल गरेको बताउँछन्। कोरोना भाइरसको पहिलो संक्रमण भारतमा केरलामा देखिएको थियो। तर, त्यहाँ महामारीले धेरै क्षति पुर्याउन सकेन। त्यही कोरोना महामारीमा देखाएको उचित व्यवस्थापनका कारण विजयान नेतृत्वमा फेरि सरकार बन्ने अवस्था देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।