दिल्ली (भारत)- काेराेना महामारीकाे दाेस्राे लहरले भयवह स्थिति लिन थालेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले जारी लकडाउन एक साता थप गरेका छन्।
शनिबार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले एक साता लकडाउन थप गर्न लागेकाे जानकारी दिएका हुन्।
पछिल्लाेपटक गरिएकाे लकडाउन मे ३ अर्थात साेमबार बिहान ५ बजे सकिँदै थियाे। तर, काेराना महामारीले उग्ररुप लिन थालेसँगै दिल्लीमा संक्रमितकाे उपचारका लागि अक्सिजनकाे अभाव भइरहेकाे छ।
याेसँगै दिल्लीमा १० मे बिहान ५ बजेसम्म लकडाउन जारी रहने छ।
२०२१ मा दिल्लीमा दाेस्राेपटक लकडाउन घाेषणा गरिएकाे हाे। दिल्लीमा पहिलोपटक अप्रिल १९ मा लकडाउन घाेषणा गरिएकाे थियाे।
शुक्रबार मात्रै केजरीवालले १८ देखि ४४ वर्ष उमेरका नागरिकका लागि अनिवार्य काेराेनाविरुद्धकाे खाेप लगाउन आग्रह गरेका थिए। याे खाेप अभियान मे 3 देखि शुरु हुने जनाइएकाे थियाे।
पछिल्ला १५ दिनदेखि दिल्लीमा २० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन्। अन्तिमपटक १६ अप्रिलमा २० हजारभन्दा कम संक्रमित फेला परेका थिए। शुक्रबार नयाँ संक्रमितको संख्या २७ हजार ४७ रहेको थियो। त्यही अवधिमा थप ३७५ जनाले ज्यान गुमाएका थिए।
यही अवधिमा थप २५ हजार २८८ जना निको पनि भएका छन्। दिल्लीमा हालसम्म ११ लाख ४९ हजार जना संक्रमित भएका छन् भने १० लाख ३३ हजार निको पनि भएका छन्। हालसम्म १६ हजार १४७ जनाले ज्यान गुमाइसकेका छन् भने ९९ हजार ३६१ को उपचार भइरहेको छ।
भारतमा १८ वर्षभन्दा माथि उमेरका सबैलाई राष्ट्रव्यापी खोप अभियानको तेस्रो चरण शनिबारदेखि शुरु भएको छ। खोप सीमित भएकाले थोरै राज्यले मात्र अभियानलाई निरन्तरता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।