काठमाडौं– किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा कम्तिमा ३१ जनाको ज्यान गएको छ भने सयौं मानिस घाइते भएका छन्।
पानीलाई लिएर शुरु भएको यो झडपपछि उक्त स्थानबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ।
यो झडप बुधबार त्यस्तो बेलामा शुरु भयो जतिबेला दुबै तर्फका मानिसले एक अर्का विरुद्ध ढुंगा हान्न थालेका थिए। दुई पक्षबीच भइरहेको झडपले हिंसात्मक रुप लिएको थियो।
यसअघि पानीको एक स्रोतको आसपास सीसी क्यामेरा जडान गरिएको थियो। त्यसपछि दुबै पक्ष पछि हट्न सहमत भएका थिए तर पछि यो क्षेत्रबाट बीच बीचमा गोली चलेको आवाज आइरको थियो।
किर्गिस्तानका स्वास्थ्य मन्त्री अलीजा सोल्टनबिकोवाले टेलिभिजनमा प्रसारित एक सन्देशमा जनाए अनुसार विहीबार शुरु भएको झडपका क्रममा ३१ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्।
किर्गिस्तान सरकारको तर्फबाट जारी गरिएको आँकडामा मर्नेमा एक बच्चा पनि रहेको जनाइएको छ।
यो झडपमा ताजिकिस्तानका कति नागरिको मृत्यु भएको भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन।
सामाजिक सञ्जालहरुमा आइरहेका तस्वीरहरुमा किर्गिस्तानको बाटकन विवादित क्षेत्रको आसपासमा कयौं घरहरुमा आगो लागेको देख्न सकिन्छ ।
किर्गिस्तानको बाटकन प्रान्तका गवर्नरका अनुसार दुई देश पानीको स्रोत नजिक लगाइएको क्यामरा हटाउन सहमत भएको थिए। तर पछि ताजिकिस्तानले सम्झौता मान्न इन्कार गरेको थियो।
किर्गिस्तान र ताजिकिस्तानकाबीच कयौं वर्षदेखि तनावको कारण पानीका केही स्रोत रहेका छन् जसमाथि दुबै देशले आफ्नो दाबी गरिरहेका छन्।
मध्य एशियाका अन्य देश जस्तै यी दुई देश विगत तीन दशकदेखि सीमा विवादमा फसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।