साओ पाउलो- ब्राजिलले कोरोनाविरुद्धको खोप आफै बनाउन थालेको छ। साओ पाउलोमा रहेको बुतान्तान संस्थाले ‘बुतानभ्याक’ नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको हो।
ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलोपटक खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिए। ‘यो खोप बनाउनका लागि कुनै कच्चा पदार्थ आयात गरिएको छैन। उत्पादनका लागि सबै लगानी सरकारले नै गरेको छ,’ उनले भने।
यो संस्थाले चिनियाँ खोप ‘कोरोनाभ्याक’ भने यसअघि नै उत्पादन गर्दै आएको थियो। आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा ‘बुतानभ्याक’ खोप उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए।
सरकारी निकायले नै खोप उत्पादन गर्न सुरु गरिसकेको भएपनि ब्राजिलको स्वास्थ्य नियमक निकायले भने यसलाई प्रयोगका लागि अनुमती दिइसकेको छैन।
कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत नै ब्राजिलमा सो खोपको उत्पादन सुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।
ब्राजिलमा गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन हजार १६५ मृत्यु भएको छ। योसँगै मृतकको संख्या तीन लाख ९८ हजार १८५ पुगेको छ।
त्यसैगरी सोही अवधीमा करिब ८० हजार जनामा संक्रमण देखिएको छ।
कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा संक्रमण भएको बताइएको छ।
पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेको मन्त्रालयले जनाएको छ। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको छ। ब्राजिलको अवस्था दिन प्रतिदिन थप जटिल बन्दै गएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ। साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढीको ज्यान गएको छ। त्यसैगरी सो राज्यमा करिब ४० लाख संक्रमित भएका छन्।
अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन्। उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।