काठमाडाैं- अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले २०२२ मा तीन अर्ब काेराेनाविरुद्धकाे डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ।
कम्पनीले खोप उत्पादनका लागि एमआरएनए खोप एवं मोडर्नाकै पेडियाट्रिक खोप र भेरिएन्ट बुस्टर डोजको मिश्रणमा निर्भर हुने जनाएको छ। अमेरिकामा रहेको मोडर्नाको प्लान्टको उत्पादन क्षमता पनि ५० प्रतिशतले वृद्धि हुने जनाइएकाे छ।
युरोप र संयुक्तराज्य अमेरिकामा खोप उत्पादन र आपूर्ति बढाउन आर्थिक सहायता प्राप्त हुने विश्वास पनि कम्पनीले व्यक्त गरेकाे छ। लगानी बढाइएको खण्डमा खोपका लागि आवश्यक तत्व उत्पादनलाई स्वीस साझेदार लोन्जा र स्पेनको रोभीले दोब्बर वृद्धि गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै कम्पनीले यस वर्ष ८० करोडदेखि एक अर्ब डोज खोप आपूर्ति गर्न सकिने प्रक्षेपण गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी स्टिफन बान्सेलले मोडर्नाले विकास गरेको खोपले कोरोनाको नयाँ प्रजातिको संक्रमण रोक्न पनि सफल भएको दाबी गरेका छन्। बेलायत र दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा उक्त खोप प्रभावकारी पाइएको उनले बताएका हुन्।
पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजाति विश्वका विभिन्न मुलुकमा फैलिइरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हाल ६० भन्दा बढी देशमा उक्त भाइरस पुष्टि भइसकेको छ।
बेलायतमा सेप्टेम्बरबाट सुरु भएको नयाँ प्रजाति पहिलेको तुलनामा कम्तीमा ७० प्रतिशत बढी संक्रामक देखिएको छ। हाल विभिन्न देशमा प्रयोगका लागि अनुमति पाएका करिब आधा दर्जन खोप कोरोना भाइरसको पहिलेको प्रजातिका आधारमा विकसित गरिएका हुन्।
वैज्ञानिकहरूले त्यस्ता खोपले नयाँ प्रजातिको काेराेनाविरुद्ध पनि प्रभावकारी हुने बताएका भएपनि हालसम्म कुनै परीक्षण गरिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।