दिल्ली- भारतको दिल्ली राज्यमा १८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गरेकाे साेमबार जानकारी दिएका हुन्।
‘दिल्ली सरकारले १८ बर्ष माथिका सबैलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाइदिने व्यवस्था गर्ने निर्णय गरेका छाैं,’ उनले भने। जति धेरै जनालाई खोप लगाउन सकियो, त्यति धेरै महामारीलाई कम गर्न सकिने उनको भनाइ छ।
‘अहिले बचत रहेको एक करोड ३४ लाख खोप आम सर्वसाधारणलाई लगाउन थालिने छ। खोप सकिएपनि अरु बचत नै रहने गरी व्यवस्था गर्न प्रयास गरिएकाे छ,’ उनले भने।
सबैलाई निःशुल्क खोपको व्यवस्था गर्ने निर्णय अन्य प्रदेशहरूले भने यसअघि नै गरिसकेका थिए। दिल्लीबाहेक महाराष्ट्र, कर्नाटक, हरियाणा, ओडिसा, झारखण्ड र पश्चिम बङ्गालमा सबैलाई निःशुल्क खोपको व्यवस्था गरिएको हो।
भारतमा प्राथमिकता निर्धारण गरेर उच्च प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन दिइएको थियो भने सर्वसाधारणलाई अहिले मात्र विभिन्न प्रदेशमा सुरु गरिएको छ।
केन्द्रीय सरकारले भने आगामी मे १ देखि मात्रै देशभरीका १८ वर्ष माथिका सबैलाई खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेको थियो। भारतमा कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड र कोभ्याक्सिन खोप आफैँ उत्पादन गर्दै आएको छ।
आम नागरिकले कारोनाको खोप लगाएमा संक्रमित हुने र मृत्यु हुनेको संख्या न्युनिकरण हुने मुख्यमन्त्री केजरीवालले विश्वास लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।