बग्दाद- इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्ततालमा अक्सिजन सिलिन्डर पड्किँदा मृत्यु हुनेकाे संख्या ८३ पुगेकाे छ। कोरोना भाइरस सघन उपचार कक्षमा आइतबार अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएकाे थियाे।
स्वास्थ्य अधिकारीहरुका अनुसार उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो। घटनामा अन्य ११० जना घाइते भएकाे बताइन्छ।
अधिकांश बिरामीलाई अन्यत्र सार्नुपरेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको बताइएकाे छ। कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको थियो। अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ।
इराकमा बुधबार कोभिड-१९ का बिरामीको संख्या १० लाख नाघेको छ। यो अरब मुलुकमै सबैभन्दा बढी हो।
इराकी स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी २०२० मा पहिलो संक्रमण देखिएयता हालसम्म १५ हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। करिब चार करोड जनसंख्या रहेको इराकमा हाल दैनिक ४० हजारको स्वास्थ्य परीक्षण गरिरहेको पनि मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार इराकका कम्तीमा दुई लाख ७५ हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।