जार्कात- गत बुधबारबाट हराइरहेको इन्डोनेसियाको पनडुब्बीमा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको छ। शनिबार भइसक्दा पनि पनडुब्बी नभेटिएपछि त्यसमा सवार ५३ सेनाहरु जीवितै नरहेको आशंका गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।
बाली टापुको उत्तरबाट ९६ किलोमिटर पर रहेको स्थानमा पानीभित्र ड्रिल गरिरहेको नौसेनाको पनडुब्बी बुधबार बिहानदेखि सम्पर्कविहीन भएको थियो।जर्मनीमा बनेको केआरआई नान्गाला–४०२ पनडुब्बीमा हराएपछि सरकारले छिमेकी देश अष्ट्रेलिया र सिंगापुरसँग सहयोग लिएर खोजिरहेको थियो।
त्यसमा तीन दिनसम्मको अक्सिजन थियो। सरकारी अधिकारीहरुका अनुसार यतिबेला पनडुब्बीमा भएको अक्सिजन सकिएको छ र त्यहाँबाट जीवित मानिस उद्धार गर्ने सम्भावना अब टरेर गएको छ।
यद्यपि, पनडुब्बीको खोजी जारी छ। एयर मार्शल हादी तज्जान्टोले भने, ‘पनडुब्बीमा एक बोतल लुब्रिकन्ट र एउटा उपकरण थियो जसले टोपीडोलाई बचाउँदछ।’
पनडुब्बीको अन्तिम स्थान नजिकै केही बस्तुहरु फेला परेको छ। ‘भेटिएका वस्तुहरू पनडुब्बीको अंश हो भन्ने विश्वास गरिएको छ। दबाव नभएसम्म यी वस्तुहरू पनडुब्बीबाट कहिल्यै बाहिर निस्किँदैन,’ उनले भने।
के कारणले पनडुब्बी बेपत्ता भयो भनेर हालसम्म खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।