मास्काे- रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचकसमेत रहेका विपक्षी दलका नेता एलेक्सी नभाल्नीले तीन हप्ता लामो भोक हड्ताल शुक्रबार अन्त्य गर्ने भएका छन्।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि कारागारका चिकित्सकहरुकाे सल्लाहअनुसार उनले भाेक हड्ताल ताेड्न लागेका हुन्। ४४ वर्षीय नभाल्नीले आफ्नो मेडिकल टिमलाई स्वास्थ्य परीक्षण गर्न नदिएकाे विरोधमा ३१ मार्चबाट भोक हड्ताल शुरु गरेका थिए।
नभाल्नीका डाक्टरका अनुसार उनको रगत परीक्षणकाे नतिजाबाट मिर्गौला खराब भएकाे पत्ता लागेकाे छ। यसका साथै उनलाई जहिले पनि ‘हर्ट अट्याक’ हुन सक्छ।
यता, नभाल्नीका चिकित्सकहरुले ढाडको समस्या र सुन्निएका खुट्टाको उपचार नगरिए उनकाे केही दिनमा मृत्यु हुनसक्ने बताइरहेका छन्।
तर, उनले गैर जेलका चिकित्सकहरूले जाँच गरेपछि हड्ताल अन्त गर्ने स्पष्ट पारेका छन्।
‘देशभर र विश्वभरका असल व्यक्तिहरूको अथाह समर्थनका लागि धन्यवाद, हामीले ठूलो प्रगति गरेका छौं,’ शुक्रबार दिउँसो एक इन्स्टाग्राम पोस्टमा उनले भने।
‘दुई महिना अघि, उनीहरू (रूसी प्रशासक) मैले केबल स्वास्थ्य उपचारको सहायताको लागि गरेको अनुरोधमा हाँसे र मलाई कुनै औषधि दिएनन्। एक महिना अघि, मैले मेरो उपचारका लागि गरिएका परीक्षण रिपोर्ट माग्दा ‘हाँसिमजाक’ गरियो। रूसी सरकारलाई मेरो मागप्रति झुकाउन पाएको विश्वव्यापी समर्थनका लागि म सबैमा धन्यवााद ज्ञापन गर्दछु। अहिले मलाई नागरिक चिकित्सकहरूको समूहले दुई पटक जाँच गरिसकेको छ’,उनले लेखेका छन्
नभाल्नी रुसी राष्ट्रपति पुटिनका ठूला अलोचक हुन्। फेब्रुअरीमा उनलाई कारागार चलान गरिएकाे थियाे। नभाल्नीलाई मस्कोभन्दा करिब १ सय किलोमिटर पूर्वमा रहेको पोक्रोव सहरको एक जेलमा राखिएको जनाइएकाे छ।
बुधबार राजधानी मस्को, सुदूर पूर्वको भ्लादिभोस्तोक र साइबेरियाका केही सहरमा उनकाे रिहाइकाे माग गर्दै प्रदर्शन भएका थिए। यस्तै, प्रदर्शन गरिरहेका १७ सय ९१ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा छ।
अलजजिराका अनुसार रसियाको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा ८ सय ६ र युफा सहरबाट मात्रै ११९ जनालाई गिरफ्तार गरिएकाे थियाे।
प्रदर्शनमा उत्रिएकाहरुले उनकाे उचित उपचार गर्नसमेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।