लण्डन- बेलायतको सबैभन्दा ठूलो र व्यस्त विमानस्थल हीथ्रोले भारतका लागि थप आठ उडान अनुमति दिन अस्वीकार गरेको छ।
भारतमा कोरोना भाइरस महामारी बढेकाे भन्दै बेलायतले यसअघि नै भारतलाई रातो सूची मा राखिसकेकाे छ। यसका साथै शुक्रबारदेखि यात्रामा प्रतिबन्धसमेत लगाएकाे छ।
'थप उडानहरू अनुमति दिन सक्दैनाैं। त्यसैले अध्यागमन विभागलाई थप भार नपारियोस् र लामो लाइन नबस्नुहाेस्,' एयरपोर्टले भनेकाे छ।
बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्टकाे संक्रमण भएकाे १०३ जना फेला परेका थिए। याे भेरियन्ट भारतमा पनि फेला परिसकेकाे छ।
'यो निर्णय डाटा अध्ययन गर्न लिइएको हो। यसअन्तर्गत कुनैपनि व्यक्ति जो बेलायतको नागरिक हैन र गत १० दिनदेखि भारतमा बसोबास गरिरहेका छन्, उनीहरु यहाँ आउन पाउने छैनन्,' स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले भने।
यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार भारत र अन्य कोरोना जोखिममा रहेका देशहरूबाट हुँदै आएकाे उडानमा ५० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन्।
अष्ट्रेलियाले यो निर्णय भारतमा कोरोना भाइरसको मामिलामा भएको तीव्र वृद्धिलाई ध्यानमा राखे गरेको जनाएकाे छ। एबीसी न्यूजका अनुसार यो उडान घटाउने नियम सरकारी र निजी एयरलाइन्सका लागि लागू हुनेछ।
यता, सिंगापुरको स्वास्थ्य मन्त्रालयले बिहीबार लामो अवधिको भिसा धारी र छोटो अवधिको यात्रीहरुलाई भारत प्रवेश गर्न अनुमति नदिने घाेषणा गरेकाे छ।
मन्त्रालयले प्रवासी कामदारहरूमा भाइरस संक्रमणको अनुसन्धान गरिरहेको बताएको छ र हालसम्म ११ सयभन्दा बढी व्यक्तिलाई अलग्गै राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।