काठमाडौं- मंगलग्रहमा नासाले अक्सिजन बनाएको छ। नासाले कार्बनडाइअक्साइडलाई रियाक्सन गरेर अक्सिजन बनाएको हो। नासाको यो मिसन दोस्रो सफलमा हो। केही दिन अगाडि मात्रै नासाले मंगलग्रहमा हेलिकप्टर उडाएको थियो।
मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता हासिल भएको हो।
नासाले सो प्रयोग भविष्यमा मंगलग्रहमा हुनसक्ने मानव सहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको छ। मोक्सी यन्त्र पर्सिभिअरन्स यानमा रहेको छ।
साथै नासाले बिहीवार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण गरेको छ। हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन्। यी दुवै पर्सिभिअरन्स यानसँगै फेब्रुअरीमा मंगलग्रहमा पुगेका थिए।
हेलिकप्टर जस्तै मोक्सी यन्त्रको पनि थप परीक्षणहरू गरिने छन्।
पृथ्वीसँग मंगलग्रहलाई तुलना गर्दा कार्बनडाइअक्साइड ९६ प्रतिशत छ। यता अक्सिजन ०.१३ प्रतिशत मात्रै रहेको छ। मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बन डाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो।
बाँकी एक अणु कार्बन र एक अणु अक्सिजन मिलेर बनेको कार्बन मोनोअक्साइड त्यसले त्यहाँको हावामा छोडिदिएको हो। मोक्सीले कसरी काम गर्छ भनेर पत्ता लगाउन नासाको टोलीले विभिन्न मोडहरूमा एकाइ परीक्षण गरिरहेको छ। यसले प्रतिघण्टा १० ग्राम अक्सिजन उत्पादन गर्ने अपेक्षा गरिएको छ।
मोक्सीले कति राम्ररी काम गर्छ भनेर वैज्ञानिकहरू यसलाई विभिन्न तरिकाले चलाउने तयारी गरिरहेका छन्। सानो आकारको यसले यसले एक घण्टामा १० ग्राम अक्सिजन निर्माण गर्ने अपेक्षा गरिएको छ।
मंगलग्रहमा अन्तरिक्षयात्रीलाई धेरै टन अक्सिजन आवश्यक पर्नेछ। अक्सिजन श्वास फेर्न मात्रै होइन, यानलाई मंगलग्रहको सतहबाट प्रक्षेपण गर्न पनि आवश्यक पर्छ।
नासाको अपेक्षा मोक्सीको प्रयोग सफल भयो भने पृथ्वीबाट कम मात्रै अक्सिजन लगेर त्यहीँको वातावरणमा अक्सिजनको व्यवस्था गर्ने हो। यो प्रविधिलाई विकास गरेर त्यो अक्सिजनलाई हाइड्रोजनसँग मिसाएर पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।