इस्लामावाद- पाकिस्तानमा फ्रान्सविरोधी आन्दोलन गरिरहेकाे प्रतिबन्धित कट्टरपन्थी संगठन तेहरिक–ए–लबैक पाकिस्तान (टिएलपी)ले ५ प्रहरीलाई बन्धक बनाएकाे छ। उक्त समूहले शनिबार र आइतबार एक डीएसपीसहित ५ प्रहरीलाई बन्धक बनाएकाे हाे।
आइतबार लाहाेरस्थित अर्फनेज चाेकमा विराेध गरिरहेका संगठनका कार्यकर्तालाई तितरबितर पार्न गर्न गएका डीएसपीलाई बन्धक बनाएकाे बताइन्छ। संगठनले बन्धक बनाएपछि उनलाई यातना दिएकाे भिडियोसमेत सार्वजनिक गरेकाे छ।
गत हप्तादेखि यस संगठनका कार्यकर्ताहरूले विरोध गरिरहेका छन्। क्यापिटल सिटी प्रहरी कार्यालयका प्रवक्ता राणा आरिफका अनुसार संगठनका कार्यकर्ताहरूले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए।
'उक्त घटनामा घाइते भएका ११ प्रहरी अधिकारी अस्पतालमा छन्। प्रहरीले गरेकाे धरपकडमा तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्,' उनले भने।
पैगम्बर मोहम्मदको कार्टुन देखाउने फ्रान्सका एक शिक्षकको हत्यापछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले दिएको अभिव्यक्ति ईश्वरको निन्दा भएकाे भन्दै पाकिस्तानमा फ्रान्सविरोधी भावना बढेको छ। उक्त संगठनले २० अप्रिलसम्म फ्रान्सेली दूतावासमा कार्यरत कर्मचारीलाई स्वदेश फर्काउन इमरान खान सरकारलाई दबाब दिइरहेकाे छ।
यद्यपि, फ्रान्सेली दूतावासले पाकिस्तानमा रहेका आफ्ना नागरिक तथा कम्पनीलाई अस्थायी रुपमा मुलुक छाड्न आग्रह गरिसकेकाे छ। तर, केही कर्मचारी स्वदेश फर्किएपनि दूतावास बन्द नहुने फ्रान्सले बताइसकेकाे छ। यद्यपि, याे संगठनले फ्रान्सेली दूतावास बन्द गर्नुपर्ने माग राख्दै आएकाे छ।
खान सरकारका लागि टाउको दुखाइ बनेकाे टीएलपीका संस्थापक हुन् खादिम हुसेन रिजभी। उनकाे याे संगठनले पाकिस्तानका दुई ठूला शहर रवालपिन्डी र इस्लामावाद कब्जामा राखेकाे थियाे। उनकाे केही समय अगाडि रहस्यमय मृत्यु भयाे। यद्यपि, उनकाे कुख्यात आतंकवादी संगठन आईएसआईएसले हत्या भएकाे बताइन्छ।
उनकाे मृत्युसँगै याे संगठनकाे गतिविधि कम हुने आकलन गरिएकाे थियाे। तर,यसकाे गतिविधिमा उल्लेख्य वृद्धि भइरहेकाे छ। हाल याे संगठनकाे अध्यक्ष उनकै पुत्र साद हुसैन रिजभी रहेका छन्। उनलाई गत आइतबार प्रहरीले पक्राउ गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।