तेहरान- इरानको नातान्ज आणविक केन्द्रमा आक्रमण गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
आइतबार भएको आक्रमणबाट केन्द्रमा रहेको विद्युतीय प्रसारण लाइनमा असर गरेको बताइन्छ। यसबाट सेन्टिफ्यूजमा क्षति पुगेको छ। एकदिनअघि मात्र इरानले यूरेनियम अझै तीव्र गतिमा संवर्द्धन गर्न सक्ने सेन्ट्रिफ्युज सञ्चालन गरेको थियो।
अलजजिरका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा ४३ वर्षीय रेजा करिमीलाई पक्राउ गरिएको हो। उनी आक्रमणपछि इजरायल भागेको दावी गरिएको छ।
‘उनी पक्राउ परिसकेका छन् र कानुनी माध्यमबाट स्वदेश फर्काउनका लागि आवश्यक कदम चालेका छौं,’ अधिकारीहरुले भनेका छन्।
इजरायलले आधिकारिक रूपमा यस आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपि, इजरायलको मोसाद जासूस एजेन्सीले साइटमा साइबर आक्रमण गरेको इजरायलको कान सार्वजनिक रेडियोले गुप्तचर स्रोतलाई उद्धृत गर्दै भनेको थियो।
यदि इजरायलले यस आक्रमणको लागि जिम्मेवार छ भने यसले दुई देशहरू बीचको तनावलाई अझ बढाउनेछ, जुन पहिले नै तनावपूर्ण स्थितिमा थियो।
यता, इरानले उक्त केन्द्रलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याएको बताएका छन्। इरानका सहायक विदेशमन्त्री अब्बास अराघ्चीले यो केन्द्रबाट चाँडै ६० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन गर्न सुरु गर्ने बताएका छन्।
अराघ्चीले नान्टाजको केन्द्रमा क्षति पुगेका मेसिनहरुको सट्टामा ५० प्रतिशत बढी क्षमता भएका एक हजार सेन्ट्रिफ्युज थप गर्ने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।