मस्काे- थुनामा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख आलोचक एलेक्सी नाभाल्नीले जेलरले बलपूर्वक खान खुवाएको आरोप लगाएका छन्।
मस्कोदेखि करिब २०० किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक कारागारमा रहेका नाभाल्नी रिहाइको माग गर्दै केही दिनदेखि भोक हड्ताल बस्दै आएका छन्।
उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आफूलाई खान खुवाउन ‘स्ट्रिटज्याकेट’ (हात बाँधेर राख्न मिल्ने ज्याकेट) लगाइएको आरोप लगाएका हुन्।
पुटिनका विरोधी नाभाल्नी मार्चको अन्त्यदेखि भोक हडतालमा रहेका छन्। उनमा पिठँयु र खुट्टा दुख्ने समस्या उत्पन्न भएको बताइन्छ। तर, जेलरले उनको उपचार गर्न अस्वीकार गरेको उनको आरोप छ।
‘उनलाई उचित उपचारको प्रस्ताव गरेका छौं तर यसलाई अस्वीकार गर्दै आएका छन्। उनले हामीले सिफारिस गरेका डाक्टरसँग उपचार गर्न अस्वीकार गरेका छन्,’ कारागारका एक अधिकारीले भने।
यस अगाडि पनि मानवअधिकार समूह एम्नेस्टी इन्टरनेसनलले नाभाल्नी मृत्युको मुखमा पुगेको बताएको थियो। उनलाई कारागारमा अत्यधिक यातना दिइने गरेको उक्त समूहको दाबी छ।
राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीलाई करिब ८ महिना पहिले साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कनेक्रममा बिमानमै कथितरुपमा विष खुवाइएर कोमामा पुर्याइएको थियो।
तत्कालै उनलाई ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नाभाल्नीलाई जर्मनी लगिएको थियो। जर्मनीबाट आएलगत्तै उनलाई मस्कोको शेरेमेत्येभो विमानस्थलबाट रुसी अधिकारीले पक्राउ गरेको थियो।
नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ। ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रहसमेत गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।