इस्लामाबाद- पाकिस्तानमा फ्रान्सविरोधी आन्दोलनले उग्ररूप लिएपछि अस्थायी रूपमा फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल बन्द गरिएको छ।आन्तरिक मन्त्रालयको निर्देशनमा शुक्रबारदेखि लागू हुनेगरी मिडिया नियामक एजेन्सीले सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध लगाएको हो।
‘सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्न केही सामाजिक सञ्जालहरुअस्थायी रूपमा प्रतिबन्धित गरिएको छ,’ प्रवक्ता खुर्राम मेहरानले भने। उनले सरकारले दिएको आदेश पालना गरेको समेत बताए। ‘सरकारले दिएको निर्देशनअनुसार तेह्रिक–इ–लबैक पाकिस्तान (टिएलपी)विरुद्ध कारबाही गर्न सामाजिक सञ्जाल प्रतिबन्ध लगाएका हौं,’ एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने।
केही अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको खुलेर विरोध गरेका छन्।
‘सामाजिक सञ्जाल अवरुद्ध गर्ने र प्रतिबन्ध लगाउने यी मनमानी निर्णयहरूले स्वतन्त्रतामा अंकुश लगाउन सक्छ। यसले कहिले पनि राम्रो गर्न सक्दैन,’ ट्विटरमा डिजिटल राइट्स फाउन्डेशनका प्रमुख निघाट ड्याडले सामाजिक सञ्जाल बन्द गरिनुभन्दा पहिला भने।
फ्रान्स सरकारले बिहिबार आफ्नो नागरिक असुरक्षित रहेको भन्दै पाकिस्तानमा रहेका दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको छ।
‘यो कुरा सत्य हो, पाकिस्तानको स्थिति बिग्रदै गएको कारण यहाँ रहेका नागरिकलाई अस्थायी रूपमा देश छाड्न निर्देशन दिएका छौं,’ फ्रान्सेली दूतावासका एक अधिकारीले नाम न छाप्ने शर्तमा बिहीबार अलजजिरालाई भने।
यो हप्ता प्रहरी र प्रदर्शनकारीबीच भएको भिडन्तमा दुई प्रहरीले ज्यान गुमाएकका छन्। त्यस्तै तीन प्रदर्शनकारीको पनि मृत्यु भएको छ भने ५ सय ७० जना घाइते भएका छन्।
गत अक्टोबरमा एक शिक्षकले कक्षा कोठामा प्रोफेट मोहम्मदको कार्टुन देखाएपछि उनकाे टाउको काटेर हत्या गरिएको थियो। त्यसपछि, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले प्रोफेट मोहम्मदको कार्टुन देखाउनु अभिव्यक्ति स्वतन्त्रताको हक भएको बताएपछि मुस्लिम राष्ट्रहरूमा विरोध भएको थियो। यो कार्टुन प्रकाशन गरेको कारण सन् २०१५ मा चार्ली हेब्डोको कार्यालयमा आतंककारी हमला भएको थियो।
मुस्लिम धर्ममा मोहम्मदलाई कार्टुनलगायतमा चित्रण गर्नु बर्जित गरिएको छ र मुस्लिमहरूले अत्यन्तै आपत्तिजनक मान्ने गर्छन्। पाकिस्तानमा प्रोफेट मोहम्मदको अपमान गरे मृत्युदण्डसम्म दिने कानुन छ।
टिएलपी पार्टीले नोभेम्बरमा यसविरूद्ध ठूलो विरोध प्रदर्शन गरेको थियो। पार्टीले फ्रान्सेली राजदूतलाई देश निकाला गर्ने, फ्रान्सेली सबै वस्तुहरूको बहिष्कार गर्ने माग गरेको थियो।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि राष्ट्रपति म्याक्रोंको आलोचना गरेका थिए।
उनले सबै माग सम्बोधन गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन रोकिएको थियो। त्यसपछि खान सरकारले फ्रान्सेली राजदूतलाई निष्कासन गर्न टीएलपीका अध्यक्ष साद हुसैन रिजभीसँग सम्झौता पनि गरेको थियो। उनलाई फेब्रुअरी २०२१ सम्ममा राजदूतलाई हटाउने सरकारले आश्वासन दिएको थियो। त्यसपछि विरोध शान्त भएको थियो।
पाकिस्तान शान्त भएपछि सरकारले सम्झौता २० अप्रिलसम्म लम्बायो। तर, उक्त समयसीमासम्म फ्रान्सेली राजदूत निष्कासन गरिएन भने देशभर पुनः प्रदर्शन गर्ने चेतावनी टीएलपीले दिएको थियो।
सरकारलाई बारम्बार धम्की दिएको आरोपमा रिजवीलाई आइतबार पक्राउ गरिएको थियो। उनको पक्राउसँगै पार्टीका कार्यकर्ताहरु सडकमा उत्रिए। राष्ट्रव्यापी प्रदर्शनमा भएको झडपमा कम्तिमा दुई प्रहरीको मृत्यु भएको छ भने सयौं प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। कराची, लाहोर, इस्लामाबादको नर अन्य ठाउँमा ठूला जुलुसहरू आयोजना गरिएको छ।
मुख्य राजमार्गहरू सोमबार र मंगलबारका बन्द गरिएको थियो। प्रदर्शनकारीहरुलाई तितरबित पार्न प्रहरीले केही स्थानमा पानीको फोहोरा, अश्रु ग्यास र रबरको गोली चलाएको थियो। बुधवार आन्तरिक मन्त्री शेख रशीदले टीएलपीलाई प्रतिबन्ध लगाएको घोषणा गरेका थिए।
बुधबार आन्तरिक मन्त्री शिख रसिद अह्मदले पाकिस्तान प्रोफेट मोहम्मदको सम्मानको पक्षमा भएको स्पष्टिकरण दिएका थिए। तर, टिएलपीको मागले विश्वमा पाकिस्तान कट्टरपन्थी देशको रूपमा चित्रण हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।