क्यानेबरा- अष्ट्रेलियाले कोरोना भाइरसविरुद्धकाे खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने योजना बनाएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री इस्कट मोरिसनले बिहीबार सबैभन्दा पहिला खोप लगाइसकेका आफ्ना नागरिकलाई विदेश भ्रमणमा जाने अनुमति दिनेबारे छलफल भइरहेको बताएका हुन्।
कोरोना महामारी नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण अष्ट्रेलियाली नागरिक र पीआरधारीले कुनै विशेष कारण मुलुक छाड्न प्रतिबन्ध लगाइएको थियो। बाहिरबाट आएका मानिस भने आफ्नै खर्चमा होटलमा दुई साता अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने सरकारले जनाएको छ।
‘कुनै विशेष उद्देश्यका साथ अर्को मुलुक जानेलाई सबैभन्दा पहिलो प्राथमिक्तामा राखिने छ। उक्त योजना अनुसार व्यापारिक तथा व्यक्तिगत समस्या भएकालाई देश छाड्न अनुमति दिइने छ। तर, स्वदेश फिर्ता भएपछि आफ्नै घरमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ,’ उनले भने।
सन् २०२० को मार्चयता अन्य मुलुकबाट आउनेका लागि अष्ट्रेलियाले सीमा बन्द गर्दै आएको छ। जसले कयौं कारणबस घर फर्केका विद्यार्थी र अन्य भिसामा रहेको ब्यक्तिसमेत एक वर्षदेखि अस्ट्रेलिया फर्कन पाएका छैनन।
सीमा थप खुकुलो पार्ने निर्णय भने जोखिममा रहेका मानिसले पूर्णरुपमा खोप नपाएसम्म नहुने उनको भनाइ छ। अस्ट्रेलियाले यस वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप लगाउने योजना बनाएको छ। अस्ट्राजेनेक खोपले नकारात्मक प्रभाव पारेपछि अस्ट्रेलियाले अर्को खोप मगाइसकेको छ।
नयाँ खोप आउन समय लाग्ने भएकाले आगामी जनवरीसम्ममा सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीले मोरिसनले जनाए। बुधबारसम्ममा अष्ट्रेलियामा १३ लाख ६० हजार डोज कोरोना खोप दिइएको छ।
अष्ट्रेलियामा हालसम्म २९ हजार ४६९ संक्रमित फेला परेका छन्। यस्तै, २५ हजार ४८६ संक्रमणमुक्त भइसकेका छन् भने ९१० जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।