बेइजिङ- चीनले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा सम्वेदनशील बन्न आग्रह गरेको छ।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
जापान सरकारले फुकुसीको आणविक भट्टीबाट निस्केको हानिकारक पानीलाई प्रशान्त महासागरमा मिसाउने निर्णय गरेको छ।
स्थानीय र छिमेकी देशहरूको विरोधका बाबजुद जापान सरकारले मंगलबार टोकियो इलेक्ट्रिक पावर कम्पनीबाट निस्किने हानिकारक रेडियोधर्मी तत्व रहेको पानीलाई अबको दुई वर्षभित्र समुद्रमा पठाउने निर्णय गरेको हो।
‘जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ, यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्,’ उनले भनेका छन्।
चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको प्रसङ्गमा छलफल भएको प्रवक्ता चाउल बताए।
दुबै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एकपक्षीय’ निर्णयको बारेमा छलफल गरेको चिनियाँ अधिकारीले बताएका छन्।
‘चीनका साथै दक्षिण कोरियाले पनि जापानलाई अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूसँगको पूर्ण परामर्श, सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पर्याप्त सहभागितामा आधारित फुकुशिमा आणविक केन्द्रको फोहोर पानीको मुद्दालाई विवेकपूर्ण तरीकाले अघि बढाउन आग्रह गर्दछन्, यो चीन र दक्षिण कोरियाको साझा स्थिति हो,’ प्रवक्ता चाउले भने।
प्रवक्ता चाउले जापानको आणविक फोहोर पानी सुरक्षित छ भन्ने दावी मात्र एकपक्षीय डाटामा निर्भर रहेको र यस अनुसन्धानमा अन्तर्राष्ट्रिय वातावरणमामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय संघसंस्था र छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको उनले बताए।
सन् २०११ को सुनामीका कारण फुकुसीको आणविक भट्टीमा क्षति पुगेको थियो। क्षतिपछि भट्टीबाट चुहावट भएको पानीलाई हालसम्म जम्मा गरेर राखिएको छ। सोही पानीलाई समुद्रमा पठाउन लागिएको हो।
प्रधानमन्त्री योशिहिडे सुगाले फुकुसिमा प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन पानीलाई समुद्रमा मिसाउन अपरिहार्य रहेको बताएका छन्। ‘पानीको सुरक्षा सुनिश्चित गर्न र ‘पानीमा क्षति पुग्ने’ अफवाह रोक्न सरकारले काम गर्नेछ,’ उनले भनेका छन्।
समुद्रमा पानी छोड्नुअघि १० लाख टन पानीलाई फिल्टर गर्ने जापानको योजना छ। यस्तो स्थितिमा समुद्री वातावरणमा कुनै नकारात्मक असर नपर्ने उसको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।