तेहरान- इरानले भूमिगत नतान्ज आणविक केन्द्रमा इजरायलले ‘आतंकवादी आक्रमण’ गरेकाे आराेप लगाएकाे छ।
आइतबार बिहान उक्त केन्द्रमा आक्रमण भएकाे थियाे। यस आक्रमणबाट आणविक केन्द्रको सेन्टिफ्यूजमा क्षति पुगेकाे बताइन्छ। एकदिनअघि मात्र इरानले यूरेनियम अझै तीव्र गतिमा संवर्द्धन गर्न सक्ने सेन्ट्रिफ्युज सञ्चालन गरेको थियो। इरानले यस आक्रमणको बदला लिने चेतावनी दिएको छ।
विदेश मन्त्रालयका प्रवक्ता शईद खतिबजादाले आइतबारको घटनाको लागि इजरायललाई आधिकारिक रूपमा आरोप लगाएका हुन्। यो घटनाले आणविक केन्द्रमा पावरमा क्षति पुगेकाे उनकाे भनाइ छ।
इजरायलले यस हमलाको जिम्मेवारी लिएको छैन। यद्यपि, इजरायलको मोसाद जासूस एजेन्सीले साइटमा साइबर आक्रमण गरेको इजरायलको कान सार्वजनिक रेडियोले गुप्तचर स्रोतलाई उद्धृत गर्दै भनेको थियाे।
यदि इजरायलले यस आक्रमणको लागि जिम्मेवार छ भने यसले दुई देशहरू बीचको तनावलाई अझ बढाउनेछ, जुन पहिले नै तनावपूर्ण स्थितिमा थियाे। इ
खतिबजादाले आक्रमणमा आईआर १ सेन्ट्रिफ्यूज बिग्रिएको बताएका छन्। यद्यपि, उनले यस बारेमा अन्य जानकारी दिएनन्।
यता, इरानका सहायक विदेशमन्त्री अब्बास अराघ्चीले चाँडै ६० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन गर्न शुरु गर्ने बताएका छन्।
अराघ्चीले नान्टाजको केन्द्रमा क्षति पुगेका मेसिनहरुको सट्टामा ५० प्रतिशत बढी क्षमता भएका एक हजार सेन्ट्रिफ्युज थप गर्ने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई जानकारी दिएका छन्। यद्यपि उनले यस विषयमा थप जानकारी भने दिएका छैनन्।
सन् २०१५ मा भएको सम्झौताअनुसार इरानलाई ३.६७ प्रतिशत शुद्ध युरेनियम मात्र सम्वर्धनको अनुमति दिइएको थियो। तर, उक्त सम्झौताअनुसार इरान परमाणुसम्बन्धी धेरै कार्यक्रमबाट पछि हटेको थियो।
सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर राख्दै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले त्यसको प्रत्युत्तर दिने बताएको थियो।
उक्त सम्झौतालाई ज्वोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन (जेसीपीओए) पनि भनिन्छ। तर, गत फेब्रुअरीको अन्तिममा इरानका सर्वोच्च नेता अयातोल्लाह खामिनीले आवश्यक परे ६० प्रतिशत शुद्ध युरेनियम उत्पादन गर्न सक्ने चेतावनी दिएका थिए।
नयाँ कानुन अनुसार शान्तिपूर्ण उद्देश्यका लागि २० प्रतिशत शुद्ध गरिएको युरेनियम हरेक वर्ष १२० किलो भण्डारण गर्नुपर्ने उनकाे भनाइ छ।
गत नोभेम्बर अन्त्यमा इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएपछि इरानको संसद्ले नयाँ कानुन पारित गरेको थियो। उक्त हत्याका लागि इरानी नेताहरूले इजरेललाई आरोपित गर्ने गरेका छन्।
नयाँ कानुन अनुसार इरानले गत जनवरीबाट इरानले २० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन शुरु गरेकाे छ। न्युक्लियर हतियार निर्माणको लगि ९० प्रतिशतसम्म शुद्ध युरेनियम आवश्यक पर्छ। यद्यपि इरानले न्युक्लियर हतियार बनाउनु आफ्नो उद्देश्य नरहेको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।