पेरिस- फ्रान्स सरकारले पाकिस्तानमा रहेका दूतावासका कर्मचारी र नागरिकलाई फिर्ता बोलाएको छ। हिंसात्मक प्रदर्शन बढेपछि आफ्नो नागरिक असुरक्षित रहेको भन्दै सबैलाई फिर्ता बोलाइएको हो।
‘यो कुरा सत्य हो, पाकिस्तानको स्थिति बिग्रदै गएको कारण यहाँ रहेका नागरिकलाई अस्थायी रूपमा देश छाड्न निर्देशन दिएका छौं,’ फ्रान्सेली दूतावासका एक अधिकारीले नाम न छाप्ने शर्तमा बिहीबार अलजजिरालाई भने।
यता, अर्का फ्रान्सेली अधिकारीले भने पाकिस्तानको राजधानी इस्लामाबादस्थित दूतावास खुला रहने दावी गरेका छन्। यद्यपि, केही कर्मचारीले भने देश छोड्ने छन्। ‘पाकिस्तानमा सिर्जित गम्भीर खतराका कारण फ्रान्सेली नागरिक र फ्रान्सेली कम्पनीहरूलाई अस्थायी रूपमा देश छोड्ने सल्लाह दिइन्छ,’ दूतावासले ईमेलमा भनेको छ।
गत वर्ष फ्रान्सेली व्यङ्व्य पत्रिका चार्ली हेब्डोले पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन प्रकाशन गरेको थियो। यिनै कार्टुन प्रकाशन गरेको कारण सन् २०१५ मा चार्ली हेब्डोको कार्यालयमा आतंककारी हमला भएको थियो।
इस्लामी पार्टी तहरीक–ए–लबैक पाकिस्तान (टीएलपी)ले नोभेम्बरमा यसविरूद्ध ठूलो विरोध प्रदर्शन गरेको थियो। पार्टीले फ्रान्सेली राजदूतलाई देश निकाला गर्ने, फ्रान्सेली सबै वस्तुहरूको बहिष्कार गर्ने माग गरेको थियो।
सबै माग सम्बोधन गर्ने पाकिस्तानी सरकारले प्रतिवद्धता गरेपछि आन्दोलन रोकिएको थियो। त्यसपछि इमरान खान सरकारले फ्रान्सेली राजदूतलाई निष्कासन गर्न टीएलपीका अध्यक्ष मौलाना साद हुसेन रिजवीसँग सम्झौता पनि गरे। उनलाई फेब्रुअरी २०२१ सम्ममा राजदूतलाई हटाउने सरकारले आश्वासन दिएको थियो। त्यसपछि विरोध शान्त भएको थियो।
पाकिस्तान शान्त भएपछि सरकारले सम्झौता २० अप्रिलसम्म लम्बायो। तर, उक्त समयसीमासम्म फ्रान्सेली राजदूत निष्कासन गरिएन भने देशभर पुनः प्रदर्शन गर्ने चेतावनी टीएलपीले दिएको थियो।
सरकारलाई बारम्बार धम्की दिएको आरोपमा रिजवीलाई आइतबार पक्राउ गरिएको थियो। उनको पक्राउसँगै पार्टीका कार्यकर्ताहरु सडकमा उत्रिए। राष्ट्रव्यापी प्रदर्शनमा भएको झडपमा कम्तिमा दुई प्रहरीको मृत्यु भएको छ भने सयौं प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। कराची, लाहोर, इस्लामाबादको नर अन्य ठाउँमा ठूला जुलुसहरू आयोजना गरिएको छ।
मुख्य राजमार्गहरू सोमबार र मंगलबारका बन्द गरिएको थियो। प्रदर्शनकारीहरुलाई तितरबित पार्न प्रहरीले केही स्थानमा पानीको फोहोरा, अश्रु ग्यास र रबरको गोली चलाएको थियो। बुधवार आन्तरिक मन्त्री शेख रशीदले टीएलपीलाई प्रतिबन्ध लगाएको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।