न्यूयाेर्क- संयुक्त राष्ट्रसंघले म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक गरेकाे छ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी अप्रिल १३ तारिखसम्म उनीहरुको मृत्यु भएको हो।
'गत फेब्रुअरी १ तारिखदेखि यही अप्रिल १३ तारिखसम्मको विवरण अनुसार म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेका छन्,' राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले भने।
आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको उनकाे दाबी छ।
फ्रेबुअरी १ मा ‘कू’ भएदेखि जारी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७०१ नाघेकाे छ। यस्तै ३ हजार पक्राउ परेका छन् भने २३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको थियाे।
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सु ची र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो।
सेनाले सो निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ। सेनाले निर्वाचन गराउने उद्देश्यका साथ एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ।
यस्तै प्रदर्शनकारीले म्यानमारमा मनाइने नयाँ वर्ष अर्थात् थिङग्यानमा समेत प्रदर्शनलाई निरन्तरता दिएका छन्। थिङग्यान अप्रिल १३ देखि १६ सम्म ४ या ५ दिनसम्म मनाइन्छ। थिङग्यान सबैभन्दा महत्त्वपूर्ण पर्व हो। यसका लागि मंगलबारबाट बिदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।