ताइपेइ- ताइवानमा भएकाे इतिहासकै भयानक रेल दुर्घटनापछि यातायातमन्त्रीले पदबाट राजीनामा दिएका छन्। पूर्वी भागमा गत अप्रिल २ तारिखमा भएको रेल दुर्घटना मा ४९ जनाको मृत्यु भएपछि यातायातमन्त्री लिन चिया लुङले बिहीबार राजीनामा दिएका हुन्।
उनकाे पदावधि अप्रिल २० देखि सकिने छ।
छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए। रेल एउटा साँघुरो सुरुङ (टनेल) भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो।
पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ।
उद्धारकर्ताहरुले सुरुङभित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बाहरु कच्याककुचुक भएको पाएका थिए। तीमध्ये अगाडिको आठ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो, उद्धारकर्मी चाङ जि-चेनले बताए। सो दुर्घटनामा २ सयजना घाइते भएका थिए।
ताइवानमा सन् २०१८ मा पनि ठूलै रेल दुर्घटना भएको थियो जसमा १८ जनाको मृत्यु भएको थियो। सन् १९९१ मा दुईवटा रेल एकआपसमा ठोक्किएर भएको अर्को दुर्घटनामा ३० जना यात्रुको ज्यान जानुका साथै ११२ जना गम्भीर घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।