नयाँ दिल्ली- कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव देखिएको भारतको राजधानी दिल्लीमा कर्फ्यूको लागू हुने भएको छ।
बिहीबार दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले अबदेखि हरेक सप्ताहन्तमा दिल्लीमा कर्फ्यू लाग्ने जानकारी दिएका हुन्।
‘शनिबार र आइतबार कर्फ्यू लगाइने छ। सो दिन मानिसहरु मनोरन्जनका लागि जम्मा हुने गर्छन्, अहिले अवस्था नाजुक भएकाले कामको दिनबाहेक सप्ताहन्तमा कर्फ्यू लाग्ने छ,’ उनले भने।
उनले अति आवश्यक सेवामा कार्यरत व्यक्तिलाई पास जारी गरिने समेत जानकारी दिए। ‘अति आवश्यक सेवामा कार्यरत व्यक्तिलाई पास जारी गरिनेछ। जिमखाना, मल्ल र प्रतिक्षालयहरू बन्द हुनेछन्। रेस्टुराँ र खाद्यान्न व्यवसायीलाई होम डेलिभरी गर्न अनुमति दिइने छ,’ उनले भने।
गत २४ घण्टमा दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए। योसँगै संक्रमितको संख्या ७ लाख ६६ हजार ४३८ पुगेको छ। भारतमा अहिले दैनिक एक लाखभन्दा बढीको दरमा कोरोना थपिरहेका छन्।
गएको २४ घण्टामा भारतमा २ लाख ७ सय ३९ संक्रमित फेला परेको थियो। जुन गत वर्षको महामारीको शुरू भएदेखि सबैभन्दा बढी हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयको अनुसार लगातार दोस्रो दिन हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ।
उत्तर प्रदेश र दिल्लीमा बुधबार महामारी शुरु भएदेखिकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका थिए। पछिल्लाे २४ घण्टामा उत्तर प्रदेशमा २० हजार ५१० कोरोना संक्रमित थपिएका थिए। योसँगै कोरोना संक्रमितको संख्या ७ लाख ४४ हजार २१ पुगेको छ।
राज्य सरकारले बिहीबारदेखि साँझ ८ बजेदेखि बिहान साढे ७ सम्म नोएडा, लखनउ, वाराणसी, प्रयागराज, गाजियाबाद, मेरठ, कानपुर नगर र गोरखपुरमा रातिकालीन कर्फ्यू लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।