रंगुन- म्यानमारमा प्रदर्शनकारीहरुले सडक र भवनहरुमा राताे रंग दलेर जुन्ता सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
बुधबार सेनाले फ्रेबुअरी १ मा सत्ता हत्ताएकाे विराेध र जारी प्रदर्शनमा सरकारी पक्षकाे दमनबाट मृत्यु भएकाहरुकाे ‘रगतकाे प्रतिनिधित्व’ स्वरुप उनीहरुले सडक तथा भवनहरुमा रंग दलेर प्रदर्शन गरेका हुन्।
‘याे प्रदर्शनकाे उद्देश्य प्रजातन्त्र पुनर्बहालीकाे लागि गरिएकाे संघर्षमा मारिएका सहिदहरुकाे सम्झनाकाे लागि हाे,’ आन्दोलनमा सहभागी एकले एएफपी समाचार एजेन्सीलाई भने। फ्रेबुअरी १ मा ‘कू’ भएदेखि जारी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७०१ नाघेकाे छ। यस्तै ३ हजार पक्राउ परेका छन् भने २३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
यस्तै प्रदर्शनकारीले म्यानमारमा मनाइने नयाँ वर्ष अर्थात् थिङग्यानमा समेत प्रदर्शनलाई निरन्तरता दिएका छन्। थिङग्यान अप्रिल १३ देखि १६ सम्म ४ या ५ दिनसम्म मनाइन्छ। थिङग्यान सबैभन्दा महत्त्वपूर्ण पर्व हो। यसका लागि मंगलबारबाट बिदा दिएको छ।
यता सेनाले १९ डाक्टरविरुद्ध प्रदर्शन गर्न उक्साएकाे आराेप लगाएकाे छ। केही दिन यता सेनाले अस्पतालमै गएर उनीहरुकाे माेवाइल फाेन खाेस्ने र कुटपिट गर्नेक्रम बढिरहेकाे छ।
यद्यपि, म्यानमारमा जारी प्रदर्शनमा राेकिएकाे छैन। सेनाले ‘कू’ गरेदेखि नै दैनिक प्रदर्शन र विभिन्न क्षेत्रका मजदुरहरूको हड्तालसहित विद्रोह गरिरहेका छन्। प्रदर्शनमा उत्रिएकाहरुले सरकारले दिएकाे पाँच दिनकाे बिदासमेत अस्वीकार गरेका छन्। बुधवार देशभरका विभिन्न सहरहरूमा प्रदर्शनकारीले ‘रक्तरोगी रंग हड्ताल’ गरेका थिए।
रंगुनकाे मुख्य सहरमा रहेकाे सरकारी कार्यालयको बाहिर प्रदर्शनकारीहरूले रातो रंगका पेन्टिङ बनाएका थिए। ‘हामी यस चाडको समयमा खुशी हुनु छैन,’ रंगुनका एक प्रदर्शनकारीले भने,‘हामीले सहिदहरूप्रति शोक मनाउनु पर्छ र हामीले यो लडाई कुनै पनि हालतमा जारी राख्नु पर्छ।’
यता प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय संघ/संस्थाहरुकाे सहयाेग पनि माग्न थालेका छन्। ‘प्रिय संयुक्त राष्ट्र, तपाईं कस्तो हुनुहुन्छ? ठिक हुनुहुन्छ भन्ने आशा गर्छु। म्यानमारका लागि हामी मर्दैछौं,’ एउटा सहरमा भेटिएकाे नोटमा लेखिएकाे थियाे।
सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको थियाे। सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सू ची र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो।
सेनाले सो निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ। सेनाले निर्वाचन गराउने उद्देश्यका साथ एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ। केही सहरहरूमा प्रदर्शनकारीहरुले सू चीको रिहाइको लागि आह्वान गर्दै प्लेकार्डहरूमार्फत मार्च पास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।