लखनाऊ- उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई काेराेना संक्रमण भएको छ। उनले बुधबार सामाजिक सञ्जालमा आफूलाई काेराेना संक्रमण भएकाे जानकारी दिएका हुन्।
'काेराेनाकाे लक्षण देखिएपछि परीक्षण गराएकाे थिए। रिपाेर्ट पाेजेटिभ आएकाे छ। अहिले म चिकित्सकले दिएको सल्लाह अनुसार अलग्गै आइसाेलेसनमा बसेकाे छु,' उनले भनेका छन्।
उनले भर्चुअल रुपमा कार्यसम्पादन गर्न सक्ने उल्लेख गरेका छन्। आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न उनले आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्यालयमा पनि केही अधिकारीहरु संक्रमित भएका छन्। उनीहरु मंगलबारदेखि क्वारेन्टिनमा रहेका थिए। मुख्यमन्त्री आदित्यनाथले हालै लखनऊमा काेराेना खाेपकाे पहिलो डोज लगाएका थिए। सबैलाई खाेप लगाउन उनले अपिल गरेका थिए।
उनले श्यामाप्रसाद मुखर्जी अस्पतालमा पहिलो डोज लिँदै योग्य व्यक्तिले खोप लिन र यूपीलाई कोरोनामुक्त बनाउन आग्रह गरेका थिए।
हालै मात्र भारतमा सम्पन्न भएको हिन्दूहरुको धार्मिक कुम्भ मेलामा पनि उनी सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।