रंगुन- संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले म्यानमार सिरियाकै स्थितिमा फर्कन सक्ने चेतावनी दिएको छ। म्यानमारमा जारी प्रदर्शनमा नागरिकमाथि जुन्ता सरकारले व्यापक दमन गरेको भन्दै गृहयुद्धमा फर्कन सक्ने बताएको हो।
फ्रेबुअरी १ मा ‘कू’ भएदेखि जारी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७०१ पुगेको छ। यस्तै ३ हजार पक्राउ परेका छन् भने २३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
‘म्यानमार गृहयुद्धमा जान्छ भन्नेमा मलाई डर छ। सिरिया र अन्य ठाउँमा भएको जस्तै विगतका घातक गल्तीहरू सरकारले दोहोर्याउन हुँदैन,’ ओएचसीएचआरकी उच्च आयुक्त मिकेली बाचेलेटले एक विज्ञप्तिमा जारी गर्दै भनिन्।

यस्तै प्रदर्शनकारीले म्यानमारमा मनाइने नयाँ वर्ष अर्थात् थिङग्यानमा समेत प्रदर्शनलाई निरन्तरता दिएका छन्। थिङग्यान अप्रिल १३ देखि १६ सम्म ४ या ५ दिनसम्म मनाइन्छ। थिङग्यान सबैभन्दा महत्त्वपूर्ण पर्व हो। यसका लागि मंगलबारबाट बिदा दिएको छ।
यसैबीच प्रदर्शनकारीहरुले प्रदर्शनको शैलीलाई परिवर्तन गरेका छन्। उनीहरुले मंगलबार ‘फूलको बुट्टा’ कुदिएको भाँडासहित तीन औंला देखाएर सरकारको विरोध गरेका थिए। यस्तो भाँडामा सरकारविरुद्धको नारा लेखिएको छ।

यता प्रदर्शनकारीहरुले फुटपाथमा रातो रंग फ्याँकेका छन् भने कारका सिसाहरुसमेत फोडेका बताइन्छ।
म्यानमार नाउका अनुसार सुरक्षा फौजले मंगलबार बिहान तमु सहरको ग्रेस अस्पतालमा छापा मारेको थियो। त्यहाँ रहेको दुई गार्डलाई कुटपिट गरेको समाचारमा जनाइएको छ। यस्तै डाक्टर र नर्सहरूको फोन कब्जा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।