टोकियाे- जापान सरकारले फुकुसीको आणविक भट्टीबाट निस्केको हानिकारक पानीलाई प्रशान्त महासागरमा मिसाउने निर्णय गरेको छ।
स्थानीय र छिमेकी देशहरूको विरोधका बाबजुद जापान सरकारले मंगलबार टोकियो इलेक्ट्रिक पावर कम्पनीबाट निस्किने हानिकारक रेडियोधर्मी तत्व रहेको पानीलाई अबको दुई वर्षभित्र समुद्रमा पठाउने निर्णय गरेको हो।
सन् २०११ को सुनामीका कारण फुकुसीको आणविक भट्टीमा क्षति पुगेको थियो। क्षतिपछि भट्टीबाट चुहावट भएको पानीलाई हालसम्म जम्मा गरेर राखिएको छ। सोही पानीलाई समुद्रमा पठाउन लागिएकाे हाे।
प्रधानमन्त्री योशिहिडे सुगाले फुकुसिमा प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन पानीलाई समुद्रमा मिसाउन अपरिहार्य रहेको बताएका छन्। ‘पानीको सुरक्षा सुनिश्चित गर्न र ‘पानीमा क्षति पुग्ने’ अफवाह रोक्न सरकारले काम गर्नेछ,’ उनले भनेका छन्।
समुद्रमा पानी छोड्नुअघि १० लाख टन पानीलाई फिल्टर गर्ने जापानको योजना छ। यस्तो स्थितिमा समुद्री वातावरणमा कुनै नकारात्मक असर नपर्ने उसको भनाइ छ।
तर, चीनले यस कदमको विरोध गरेको छ। ‘यो गैरजिम्मेवार कदम हो, यसको कठोर जवाफ दिनेछौं,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ। दक्षिण कोरियाले पनि यस कदमको विरोध गरेको छ।
भट्टीबाट निस्कने पानीमा रेडियोधर्मी तत्त्व कायम रहने जनाइएको छ। त्यसले समुद्रको जीवन विशेषगरी माछाहरूलाई हानि गर्ने उनीहरुको तर्क छ।
यता, अमेरिकाले भने यसको खण्डन गर्दै जापानको यस कदमको समर्थन गरेको छ। अमेरिकाका अनुसार जापानले पारदर्शिता अपनाउँदै अन्तर्राष्ट्रिय मापदण्ड पालन गरेको छ। ‘यसमा ठूलो मात्रामा पानी हुन्छ। समुद्रमा मिसाउँदा समुद्री जीवलाई खासै असर गर्दैन,’ अमेरिकाले भनेको छ।
भट्टी सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी र सरकारी अधिकारीले पानी भएको हानिकारक मानिने रेडियोधर्मी तत्व ट्राइटियमलाई हटाउन नसकिने बताएका छन्। उनीहरूले कम मात्राको ट्राइटियमले गम्भीर असर नगर्ने स्पष्टिकरण दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।