दार्जिलिङ- भारतीय गृहमन्त्री अमित शाहले ममता बनर्जीले दार्जिलिङको विकास रोकेकाे आराेप लगाएका छन्। मंगलबार पश्चिम बंगाल पुगेका उनले दार्जिलिङ सम्बाेधन गर्दै उक्त आराेप लगाएका हुन्।
‘ममता दिदीले दार्जिलिङको विकास रोकिन्। भारतीय जनता पार्टीले मात्र गोर्खा समुदायको यसलाई अगाडि बढाउन सक्छ र सबै समस्याको समाधान गर्न सक्छ,’ उनले भने।
बनर्जी पश्चिम बंगालकी मुख्यमन्त्री हुन्। आगामी अप्रिल १७ मा हुने पाँचौ चरणको विधानसभा निर्वाचनमा भाजपा र तृणमूल कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान लगाइएकाे छ।
सो क्रममा उनले ढाका टोपी लगाएर दार्जिलिङका नेपाली भाषी ‘गोर्खा’लाई फकाउँदै भाजपाले गोर्खाको लागि राम्रो काम गर्ने बताए। ‘गोर्खा भारतको शान हो। गोरखाको इतिहासमा उच्च स्थानमा नाम छ। जहिले पनि देशभक्त समुदायहरूको नाम दिइँदा गोर्खालाई सर्वप्रथम गर्वका साथ लिइन्छ। तपाईंहरु कसैको डर र धम्कीदेखि त्रसित नहुनुहोस्,’ उनले भनेका छन्।
शाहले बंगालमा २०० भन्दा बढी सिटसहित सरकार गठन हुने दाबी गरेका छन्। ‘अब दीदीले हमाीलाई राेक्न सक्दिनन्। बंगाल निर्वाचन हामी सबैको लागि एउटा परीक्षा हो। टीएमसी र दीदीले भाजपा र गोरखाको एकता तोड्न घिनलाग्दो प्रयास गरेका छिन्। दीदी र टीएमसी सुहाउँदो जवाफ दिनुपर्छ,’ उनले भने।
यस्तै ‘फ्रि गोर्खा गोरखा’को माग गर्दै भएको प्रदर्शनमा पक्राउ परेकालाई पनि रिहा गरिने उनले बताए। ‘बंगालमा भाजपाको सरकार गठन भएपछि गोरखाली भाईविरुद्ध लगाइएको मुद्दा एक हप्तामा फिर्ता लिनेछ,’ उनले भने।
शाहले ममतालाई हराएर उनको स्थानमा भाजपाका मुख्यमन्त्री बनाइएमा गोर्खा समुदायका ११ जातजातिलाई सूचीकृत जातिमा समावेश गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्। सूचीकृत भएका समुदायले जागिर, शिक्षा, स्वास्थ्य लगायतमा विशेष छुट तथा प्राथमिकता पाउने उनकाे तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।