रंगुन- म्यानमारमा जारी प्रदर्शनमा ज्यान गुमाउनेकाे संख्या ७ सय नाघेकाे छ।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार गत शुक्रबार एकै दिन राजधानी रंगुनबाट ९० किलोमिटर पर रहेको बागो सहरमा ८० प्रदर्शनकारी मारिएसँगै मृतककाे संख्या ७ सय १ पुगेकाे हाे।
यस्तै तीन हजार एक सयभन्दा बढी प्रदर्शनकारीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको जनाइएकाे छ। सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको थियाे।
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सु ची र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो।
सेनाले सो निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ। सेनाले निर्वाचन गराउने उद्देश्यका साथ एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।