काठमाडाैं- म्यान्मारमा सेनाको ‘कू’पछि अपदस्थ गरिएकी नेता आङ सान सु चीले आफ्ना वकिलसँग भेट्न दिन आग्रह गरेकी छिन्। साेमबार भर्चुअल भिडियाेमार्फत् अदालतमा उपस्थित भएकी उनले उक्त आग्रह गरेकी हुन्।
सु चीविरुद्ध साेमबार मात्रै थप ६ नयाँ फौजदारी अभियोग लगाइएको हाे।
नेपिडोमा पाँच र रंगुनमा एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सोले एएफपीलाई बताए। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानुन अन्तर्गत रहेको उनले जानकारी दिए।
यस अगाडि नै उनीविरुद्ध काेराेना प्राेटाेकल उल्लंघन गरेकाे, वाकीटकी राखेकाे, भ्रष्ट्राचार गरेकाे लगायतका मुद्दा थियाे। यी सबै आराेप पुष्टि भए १४ वर्षकाे जेल सजाय हुनसक्ने जनाइएकाे छ।
यी सबै मुद्दाकाे सुनुवाई केवल सुरक्षाकर्मीहरूको उपस्थितिमा भर्चुअलमार्फत् गरिँदै आएकाे छ। उनलाई यी मुद्दामा आफ्ना वकिलहरूसँग प्रत्यक्ष कुरा गर्ने अनुमति दिइएकाे छैन। तर, भर्चुअल सुनुवाईमा वकिलसँग कुरा गर्न दिइन्छ। उनकाे अर्को सुनुवाई २६ अप्रिलमा छ।
सेनाले सरकार हातमा लिएसँगै उनलाई थुनामा राखिएकाे छ। उनकाे अवस्थासमेत सार्वजनिक गरिँदैन।
‘होइन, हामीसँग कुनै कुरा हुँदैन। हामी केवल कानुनी मामिलाबारेमा मात्र कुरा गर्न सक्दछौं,’ वकील मीन सोले रोयटर्सलाई भने।
यद्यपि उनले सु चीकाे अवस्था सामान्य रहेकाे पुष्टि गरेका छन्। सू चीलाई रिहाई गर्न र म्यानमारमा पुन: प्रजातन्त्र पुनर्बहालीकाे माग गर्दै भइरहेकाे प्रदर्शनमा ब्यापक दमन गरिरहेकाे छ। तर, सेनाले प्रदर्शनकारीहरुमाथि स्वचालित हतियारहरू प्रयोग नगरेको समेत गरेकाे छ। उनीहरुका अनुसार जारी प्रदर्शनमा २४८ जनाकाे मृत्यु भएकाे छ जुमा १९ सुरक्षाकर्मी पनि रहेकाे जनाइएकाे छ।
यता एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले ४६ बालबालिकासहित ७ सयभन्दा बढीकाे मृत्यु भएकाे छ यस्तै २८ सयभन्दा बढीलाई पक्राउ गरिएकाे गरिएकाे दावी गरेकाे छ।
शुक्रबार मात्रै म्यानमारको राजधानी रंगुनबाट ९० किलोमिटर पर रहेको बागो सहरमा ८० प्रदर्शनकारी मारिएका थिए।
यता सेनाले म्यानमार जनताले शान्ति चाहेका कारण पछिल्लो दिनहरुमा प्रदर्शन कम हुँदै गइरहेको दावी गरेकाे छ। सेनाले प्रवक्ता तथा ब्रिगेडियर जनरल ज्वा मिन तुनले राजधानी नेपिडोमा एक पत्रकार सम्मेलन गर्दै पछिल्लो दिनमा प्रदर्शनमा कमी आएको जानकारी दिएका हुन्।
‘शान्ति चाहने जनताहरुको सहयोगका कारण विरोध प्रदर्शनमा कमी आइरहेको छ। जसलाई हामीले महत्वका साथ हेरिरहेका छौं,’ उनले भनेका छन्, ‘हामी र सुरक्षा फौजलाई सहयोग गर्न सबैसँग आग्रह गर्दछौं।’
उनले अब म्यानमार सामान्य स्थितिमा फर्किनेसमेत जानकारी दिए। ‘सरकारी निकायहरु र बैंकहरूले चाँडै नै पूर्ण रुपमा सुचारु गर्नेछन्,’ उनले भने। यस्तै उनले दुई वर्षभित्र चुनाव गराएर सत्ता हस्तान्तरण गर्नेसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।