मुम्बई- भारतको महाराष्ट्रमा काेराेना संक्रमण बढ्दै गएपछि शिक्षा विभागले १० र १२ कक्षाका बोर्ड परीक्षा स्थगित गरेको छ।
प्रदेशकी शिक्षामन्त्री वर्षाले ट्विटरमार्फत परीक्षा स्थगित गरिएको जानकारी दिएकी हुन्। परीक्षा स्थगित गर्ने निर्णय लिनुअघि सरोकारवाला विद्यार्थी, शिक्षक, अभिभावक, सबै पक्षका प्रतिनिधि, विज्ञ लगायतसँग परामर्श लिइएको उनले जानकारी दिइन्।
‘वर्तमान परिस्थिति परीक्षा सञ्चालनका लागि अनुकूल छैनन्,’ उनले भनिन्, ‘विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता हो।’ १२ कक्षाको परीक्षा मे अन्त्यसम्म र १० कक्षाको परीक्षा जुन महिनामा हुने उनले बताइन्। परीक्षाको नयाँ मिति चाँडै घोषणा हुने उनले बताइन्।
गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा संक्रमण पुष्टि भएकाे थियाे। यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सबैभन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ। याेसँगै भारतका कुल संक्रमितकाे संख्या १ करोड ३५ लाख २७ हजार ७१७ पुगेकाे छ।
भारतमा कोरोना भाइरसको संक्रमणका कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएकाे छ। यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ। कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ।
यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।