तेहरान- इरानका एक वरिष्ठ अधिकारीले भूमिगत नतान्ज आणविक केन्द्रमा ‘आतंकवादी गतिविधि’को कारण क्षति पुगेको बताएका छन्।
इरानको आणविक ऊर्जा संगठन (एईओआई) का प्रमुख अली अकबर सलेहीले आइतबार बिहान उक्त केन्द्रमा आतंकवादी गतिविधि भएको बताएका हुन्।
एकदिनअघि मात्र इरानले यूरेनियम अझै तीव्र गतिमा संवर्द्धन गर्न सक्ने सेन्ट्रिफ्युज सञ्चालन गरेको थियो। न्युक्लियर केन्द्रमा क्षति पुर्याउनुमा कसको हात छ भन्नेबारे सलेहीले कुनै जानकारी दिएका छैनन्। यद्यपि, उनले अन्तर्राष्ट्रिय समुदायसँग ‘परमाणु आतंकवाद’विरुद्ध तेहरानले जवाफ दिने उनले चेतावनी दिए।
‘यो कार्यले आणविक उद्योगको महत्वपूर्ण विकासलाई रोक्ने, मुलुकको औद्योगिक र राजनीतिक प्रगतिको विपक्षीको पराजयलाई दर्शाउँछ,’ उनले भनेका छन्।
सलेहीले घटनालाई प्रत्यक्ष आणविक सम्झौतासँग जोडेका छन्। अमेरिकी प्रतिबन्ध हटाउन आणविक वार्ताको विरोध गर्नेहरूले याो आक्रमण गरेको उनको आरोप छ।
इजरायलको मोसाद जासूस एजेन्सीले साइटमा साइबर आक्रमण गरेको इजरायलको कान सार्वजनिक रेडियोले गुप्तचर स्रोतलाई उद्धृत गर्दै भनेको छ।
इजरायलले उक्त घटनाको बारेमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यद्यपि, उसले पछिल्ला केही दिनयता भने इरानको परमाणु कार्यक्रमको विषयमा चेतावनी दिँदै आएको थियो।
सलेहीले यो घटना गराउनेलाई जवाफी कारबाहीको अधिकार इरानसँग रहेको बताएका छन्। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले उक्त घटनाप्रति जानकार रहेको तर यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको बताएको छ।
गतवर्ष पनि इरानको सोही परमाणु केन्द्रमा आगो लागेको थियो। इरानी अधिकारीहरुले उक्त घटनालाई साइबर आक्रमणको नतिजा भएको बताएका थिए।
इरानी संसदको उर्जा समितिका प्रवक्ताको रूपमा काम गर्ने तेहरानका सांसद मालेक शरियत नियासरले ट्वीटरमा उक्त घटना ‘अत्यन्त शंकास्पद’ रहेको भन्दै सम्भावित ‘तोडफोड र घुसपैठ’बारे चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।