ब्रसेल्स- युरोपियन युनियन (ईयू)का शीर्ष कूटनीतिज्ञले म्यानमारको जुन्ता सरकारविरुद्ध एकजुट हुने अन्तर्राष्ट्रिय प्रक्रियामा रुस र चीनले भाजाे हालेकाे आरोप लगाएका छन्।
ईयूको विदेश नीति प्रमुख जोसेप बोरेलले रुस र चीनको सम्बन्ध म्यानमारको सेनासँग राम्रो भएको भन्दै कुनै ठोस कदम नचालेको आरोप लगाएका हुन्।
‘यो कुनै आश्चर्यको कुरा होइन, रूस र चीनले युएन सुरक्षा परिषद्को प्रयासलाई रोकिरहेका छन्। उदाहरणका लागि हतियार प्रतिबन्ध लगाउने,’ एक ब्लग पोस्टमा उनले भने।
रुस र चीन दुवैको म्यानमारको सशस्त्र सेनासँग राम्रो सम्बन्ध रहँदै आएको छ। रुस पहिलो र चीन दोस्रो सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ताका हो। ‘म्यानमारमा भू–राजनीतिक प्रतिस्पर्धाले शान्ति कायम हुन गाह्रो छ। तर, प्रयास गर्नुपर्नुपर्ने हाम्रो कर्तव्य हो,’ उनले भने।
म्यानमारमा प्रजातन्त्र पुनर्बहाली भए ईयुले अझ बढी आर्थिक प्रोत्साहन दिने प्रतिवद्धतासमेत उनले व्यक्त गरे। ‘ईयूको आर्थिक लाभ अपेक्षाकृत थोरै छ। प्रजातन्त्र पुनर्बहाली भएमा म्यानमारसँगको आर्थिक सम्बन्ध बढाउन प्रस्ताव गर्न सक्छौं। यसका साथै दिगो विकास, ब्यापार तथा लगानीमा सहयोग गर्न सक्छौं,’ उनले भने।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) अनुसार सुरक्षा सेनाले फेब्रुअरी १ मा गरेको ‘कू’पछि४६ जना बालबालिकासहित ७ सयभन्दा बढी प्रदर्शनकारी मारिएको बताएको छ। शुक्रबार मात्रै बागो सहरमा मारिएका ८२ जना मारिएका थिए।
युएन सुरक्षा परिषद्ले गत हप्ता हिरासतमा रहेकी आङ सान सु ची र अन्य नेताहरुलाई रिहा गर्नका लागि आह्वान गरेको थियो। तर, म्यानमारका सेनाले उक्त आग्रहलाई अस्वीकार गरेको छ।
ईयुले म्यानमार सेनामा कार्यरत व्यक्ति र कम्पनीहरूमा नयाँ प्रतिबन्धको तयारी गरिरहेको छ। मार्चमा सेना कमाण्डर इन चीफलगायत सैन्य ‘कू’सँग जोडिएका ११ व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।