युएई- संयुक्त अरब इमिरेट्सले दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेको छ।
दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटरमार्फत शनिबार दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन्। यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ।
घोषणा गरिएका नामहरुमा नोउरा अल-माट्रोसी महिला छिन् भने मोहम्मद अल-मुल्ला पुरुष छन्।
युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनाेट गरिएको हाे। उनीहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने जनाइएकाे छ।
माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छिन्। यदि अन्तरिक्ष अभियानमा सफल भएमा माट्रोसी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन्।
यसअघि इरानी-अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन्।
अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बताएका छन्। उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए।
सन् २०१९ मा युएईका मेजर हज्जा अल-मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए। उनी अन्तरिक्ष केन्द्रमा ८ दिन बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।