बेजिइङ- चीनको शिन्जियाङ प्रान्त आएकाे बाढीका कारण एक कोइला खानीमा कार्यरत २१ कामदार फसेका छन्। हुटुबी काउन्टीको खानीमा शनिबार बाढी पसेकाे हाे।
अलजजिराका अनुसार २९ कामदारले काम गरिरहेको खानीमा बाढी पसेकाे थियाे। हालसम्म ८ कामदारकाे उद्धार गरिएको जनाइएकाे छ। यस्तै २१ जनालाई उद्धार गर्ने प्रयास जारी रहेकाे बताइएकाे छ। उद्धारकर्ताका अनुसार कामदार फसेको स्थान पत्ता लागिसकेको छ।
खानीमा पसेका कामदारलाई सास फेर्न गाह्रो हुन नदिनको लागि अक्सिजन पम्प गरिएको छ। साथै पानीलाई बाहिर फ्याँक्ने काम जारी राखिएको समाचारमा जनाइएकाे छ।
चीनका खानीहरु विश्वमै खतरनाक मानिन्छन्। गत जनवरीमा मात्र सान्दोङको सुनखानीमा बिस्फोट हुँदा १० कामदारको मृत्यु भएको थियो। यस्तै ११ जनालाई जिउँदै निकालिएकाे थियाे भने एक बेपत्ता भएका थिए।
सकुशल उद्धार गरिएका कामदारहरू दुई हप्तासम्म खानीमै थुनिएका थिए। त्यसअघि गत डिसेम्बरमा चोङकिङको एक खानीमा २३ जनाको मृत्यु हुँदा त्यसको तीन महिना अगाडि अर्को कोइला खानीमा १६ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।