रंगुन (म्यानमार)- बर्मेली सेनाका एक क्याप्टेनका सहयोगीकाे हत्या गरेको अभियोगमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सका अनुसार गत मार्च २७ मा आन्दोलन भइरहेको क्षेत्र रंगुनको ओकलापा भन्ने जिल्लामा प्रदर्शनकारीले एक सेनाको क्याप्टेनका सहयोगीकाे हत्या गरेका थिए।
सेनाको स्वामित्वमा रहेको म्यावाड्डी टेलिभिजनका अनुसार जिल्लामा मार्शल कानुनको घोषणा गरेर अदालतले त्यही कानुनअनुसार हत्यामा संलग्नहरुलाई सजाय सुनाएको हाे।
म्यानमारमा गत फेब्रुअरी १ देखि त्यहाँ सैन्य शासन लागू भएको थियाे। त्यसपश्चात प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन हुँदै आएकाे छ। प्रदर्शनलाई दबाउन यहाँकाे सेनाले व्यापक दमन गर्दै आएकाे छ।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार शुक्रबार म्यानमारको राजधानी रंगुनबाट ९० किलोमिटर पर रहेको बागो सहरमा ८० प्रदशर्नकारीहरुको मृत्यु भएको थियाे
याेसँगै जारी प्रदर्शनमा मृत्यु हुनेकाे संख्या ७ सय नाघेकाे छ भने २८ सयभन्दा बढी बेपत्ता पारिएकाे एएपीपीले जनाएकाे छ।
शुक्रबार मात्रै जुुन्ता सरकारले बर्मेली जनताले शान्ति चाहेका कारण पछिल्लो दिनहरुमा प्रदर्शन कम हुँदै गइरहेको दावी गरेकाे थियाे।
सेनाले प्रवक्ता तथा ब्रिगेडियर जनरल ज्वा मिन तुनले राजधानी नेपिडोमा एक पत्रकार सम्मेलन गर्दै अब म्यानमार सामान्य स्थितिमा फर्किने घाेषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।