रंगुन- म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागेर थप ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार शुक्रबार म्यानमारको राजधानी रंगुनबाट ९० किलोमिटर पर रहेको बागो सहरमा ती प्रदशर्नकारीहरुको मृत्यु भएको हो।
‘सरकारी सुरक्षा फाैजले चलाएकाे गाेली लागेर ८२ जना मारिए। फाइरिङ शुक्रबार बिहान सबेरै सुरु भयो र दिउँसो पनि जारी रह्यो,’ स्थानिय समाचार पाेर्टल म्यानमार नाउ र एएपीपीले शनिबार भनेको छ।
सुरक्षा बलले उनीहरुको हत्या गरेपछि शवलाई थुपारेर उक्त क्षेत्रलाई घेरा हालेका थिए। ‘यो नरसंहार जत्तिकै हो,’ समाचारमा लेखिएको छ, ‘सुरक्षा फौजले हरेक छायाँलाई गोली हान्ने गरेका छन्।’
घटनापछि उक्त क्षेत्रका धेरै बासिन्दा भागेको बताइएको छ। यता उत्तरी म्यानमारको शान प्रान्तमा जातीय सेनाको एक गठबन्धनले प्रहरी चौकीमा आक्रमण गर्दा १० जना मारिएको बताइएको छ।
शान प्रान्तको रहेको चौकीमा शनिबार बिहान अराकान आर्मी अरकान सेना, टाङ लिबरेसन आर्मी र म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी गठबन्धनले आक्रमण गरेको स्थानिय समाचार माध्यम शान न्यूजले जानकारी दिएको हो।
‘हाम्रा जनता आफ्नो अधिकार र स्वतन्त्रता फिर्ता पाउन जुनसुकै मूल्य तिर्न तयार छन्,’ बहिष्कृत सरकारका कार्यवाहक विदेशमन्त्री जिन मार आंगले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।