तेहरान- इरानमा काेराेना संक्रमित बढेसँगै पुन: १० दिन देशव्यापी लकडाउन घाेषणा गरिएकाे छ। गत महिना फारसी नयाँ वर्षको छुट्टीमा यात्रा गर्न सहज बनाएसँगै काेराेना संक्रमण फैलिएकाे आशंका गरिएकाे छ।
शनिबारदेखि इरानका सबै क्षेत्रहरूमा लकडाउन लागू हुनेछ। यद्यपि संक्रमितकाे संख्याकाे आधारमा प्रतिबन्ध लागू गरिने जनाइएकाे छ।
इरानका २५० भन्दा बढी सहर र ३२ प्रान्तलाई रातो संकेत दिइएकाे छ। यी क्षेत्रमा संक्रमितकाे संख्या उच्च छ। शनिबार देशभर १९ हजार ६६६ संक्रमित थपिएका थिए। यस्तै शुक्रबार २२ हजार ४७८ संक्रमित फेला परेकाे बताइएकाे छ।
हालसम्म इरानमा २० लाखभन्दा बढीमा काेराेना संक्रमण भइसकेकाे छ जसमध्ये ६४ हजार २२ जनाकाे मृत्यु भइसकेकाे छ। गत २४ घण्टमा मात्रै १९३ जनाकाे मृत्यु भएकाे थियाे।
राताे चिन्ह प्रदान गरिएकाे क्षेत्रहरूमा आवश्यक सेवाहरू जारी राख्न पाइनेछ। यता शैक्षिक गतिविधिहरू, रेस्टुरेन्ट, सिनेमाघर, सपिङ सेन्टरहरू र विभिन्न खुद्रा पसालहरु बन्द गर्नुपर्नेछ।
ती क्षेत्रहरूमा व्यक्तिगत सवारी साधन प्रयोग गरी यात्रा गर्न निषेध गरिएको छ। यता ५० प्रतिशत कर्मचारी कार्यालय भित्रै राखेर काम गराउँन अनुमति दिइएकाे छ। साँझ १० देखि बिहान ३ बजेसम्म देशभरि कर्फ्यू लगाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।