काठमाडाैं- नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ। याेसँगै नेपालमा गैँडाको संख्या ७५२ पुगेको छ।
राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले पाँच सय २० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैँडा भेटिएको जानकारी दिए।
नेपालमा १४६ भाले र १९८ पोथी गैँडा भेटिएको छ भने बाँकी ४०८ गैँडाको लिङ्ग पहिचान हुन सकेको छैन। यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए।
शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन्। यो संख्या सन् २०१५ मा ६०५ मात्रै थियो। बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ।
त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको ओलीले बताए। पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैँडा फेला परेका छन्।
अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।