रंगुन- उत्तरी म्यानमारको शान प्रान्तमा जातीय सेनाको एक गठबन्धनले प्रहरी चौकीमा आक्रमण गरेको छ। घटनामा १० प्रहरी मारिएको बताइएको छ।
शान प्रान्तको रहेको चौकीमा शनिबार बिहान अराकान आर्मी अरकान सेना, टाङ लिबरेसन आर्मी र म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी गठबन्धनले आक्रमण गरेको स्थानिय समाचार माध्यम शान न्यूजले जानकारी दिएको छ।
यता सेनाले भने घटनाको पुष्टि गरेको छैन। केही दिन पहिलेमात्रै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले सेनाले जनतालाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने चेतावनी दिएका थिए।
‘जनतामाथि दमन सुरु भएदेखि नै सशस्त्र समूहबीच सँगै काम गर्नेबारे धेरै कुरा भएको छ। तर, हामीले वास्तवमै यो घटना पहिलो पटक देखेका हौं,’ अलजजिराका रिपोर्टर टोनी चेङ्गले भने।
उनका अनुसार लडाकू समूह र प्रहरीबीच दुई घण्टाभन्दा बढी मुठभेड चलेको थियो।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार जारी प्रदर्शनका क्रममा ४८ बालबालिकासहित ६७४ भन्दा बढीको मृत्यु भएको छ। यस्तै २८ सयभन्दा बढी पक्राउ परेको जनाइएको छ।
म्यानमारका एक दर्जन सशस्त्र समूहले सेनाले अनआवश्यक दमन गरेको भन्दै निन्दा गरेको छ र प्रदर्शनकारीसँग मिलेर सेनाविरुद्ध लड्ने चेतावनी दिँदै आएको छ।
म्यानमारका कयौं सशस्त्र समूह वार्तामा आइसकेका छन् भने केही समूह अझैपनि सरकारविरुद्ध लड्दै आइरहेका छन्। वार्ता गर्न बाँकी समूहमाथि प्रतिबन्ध लगाइएको छ। उनीहरुले राष्ट्रिय एकता सरकार बनाउनुपर्ने माग राख्दै आएका छन्।
जातीय नेताहरूसँग सेनाका जनरलहरुले मुख्य प्रथमिक्ताका साथ अनलाइन वार्ता गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।