काठमाडाैं- गत वैशाखमै वितरण गर्ने तयारी गरिएकाले शुक्रबार वितरित विभूषणमा पुरानो नक्सा पर्न गएको गृह मन्त्रालयले बताएको छ।
शुक्रबार राष्ट्रपतिनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई प्रदान गरिएको विभूषणमा नेपालको नयाँ नक्सा नराखिएको भन्दै आलोचना बढेपछि गृह मन्त्रालयले यसबारे स्पष्टिकरण दिएको हो।
शनिबार गृह प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै विभूषण घोषणा, तयारी र वितरणकाे प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणहरूमा अंकित रहेको बताएका छन्।
'कोभिड-१९ को कारणबाट वैशाख १ वितरण हुन सम्भव नभएकोले हाल सुशोभन गरिएको हो', विज्ञप्तिमा भनिएको छ, 'नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोही बमोजिमको नयाँ नक्सा अंकित भएको र यसको सुशोभन आगामी २०७८ वैशाख १ मा गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।